विमानस्थलमा प्रहरी-अध्यागमन भिडन्त

अधिकृत मोक्तानलाई फिर्ता बोलाएर विभागीय कारबाही र असईलाई निलम्बनगर्न सिफारिस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच कुटपिटको घटनामा प्रहरीका असईलाई निलम्बन र अध्यागमन अधिकृतलाई फिर्ता बोलाउन सिफारिसगर्दै छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।

गृह मन्त्रालयले विमानस्थलमा भएको घटनाबारे छानबिन गर्न १२ माघमा मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा समिति बनाएको थियो । समितिले गृहमन्त्रालयमा बुझाएको प्रतिवेदनमा एकजना असईलाई निलम्बन गर्न सिफारिस गरेको हो ।

समितिले उक्त कुटपिट प्रकरणमा मुछिएका असईलाई निलम्बन गर्न सिफारिस गर्दा अन्य दुईजनालाई विभागीय कारबाही गर्न मन्त्रालयलाई सुझाएको छ । चेकजाँच गर्ने ठाउँमा खटिएका असई प्रकाश चौधरीले राम्ररी कमाण्ड गर्न नसक्दा कुटपिटसम्मको घटना भएको निष्कर्ष समितिले निकालेको हो।

प्रहरीले चेकजाँच गर्दा कुटपिटमा उत्रिएका अध्यागमन विभागका अधिकृत छायाँलाल मोक्तानलाई विमानस्थलबाट हटाएर विभागीय कारबाही गर्न समितिले सिफारिस गरेको छ।

समितिमा प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुल बहादुर जिसी सदस्य थिए।

घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत कर्मचारीहरू प्रहरीलाई कारबाही माग गर्दै कालोपट्टी बाँधेर आन्दोलित थिए।

घटनामा संलग्न प्रहरीहरूलाई अध्यागमनको उक्त चेकजाँच प्वाइन्टबाट पहिले नै अन्यत्र सारिएको छ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार नै कर्मचारीसँगको झडपमा देखिएका प्रहरीलाई विमानस्थलबाट हटाइएको बताएका थिए।

आइतबार विभिन्न दलनिकट पाँच कर्मचारी संगठनका नेताहरू प्रहरीलाई कारबाही माग गर्दै गृहमन्त्रीलाई दबाब दिन पुगेका थिए।

गत शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अधिकृत छायालाल मोक्तानलाई प्रहरीले चेकजाँच गर्दा कुटाकुट भएको थियो।

त्यसक्रममा मोक्तानले प्रहरीलाई लात्ती हानेका थिए। मोक्तानले लात्ती हानेपछि त्यहाँ तैनाथ प्रहरीहरू मोक्तानमाथि खनिएका थिए।

यता प्रहरीले भने ड्युटीमा खटिएका जवान रवि रञ्जन गुप्तालाई मोक्तानले आक्रमण गरेपछि अवस्था बिग्रिएको बताइरहेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *