जीबी समूहवाट यि ६ सहरका ४९ हजार बचतकर्ताको ७ अर्ब अपचलन

पोखरा, चितवन, वीरगन्ज, भैरहवा, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका गितेन्द्रबाबु (जीबी) राईको समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको विवरण प्राप्त भएको हो । नियामक निकाय र प्रहरीलगायतमा परेको उजुरी तथा संस्थाको वित्तीय विवरणका आधारमा यो विवरण संकलन भए पनि ठगी योभन्दा बढी हुन सक्ने जानकार बताउँछन् ।

ग्यालेक्सी टेलिभिजनका अध्यक्ष रहेका जीबी राईको समूहले काठमाडौंमा सञ्चालन गरेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका लागि बचत संकलन गर्न उपत्यकाका विभिन्न ठाउँमा शाखा खोलेको थियो । स्वर्णलक्ष्मीका शाखाबाट मात्रै करिब १३ हजार बचतकर्ताको पौने ३ अर्ब रुपैयाँभन्दा बढी हिनामिना भएको पीडित बचतकर्ता सुमन खनालको भनाइ छ ।

‘स्वर्णलक्ष्मीमा मात्र कुल बचतकर्ता करिब १३ हजार रहेको देखिन्छ । कतिपयको खाता दोहोरिएको होला,’ उनले भने, ‘तर, सहकारीका व्यवस्थापकले दिएको जानकारी अनुसार करिब २ अर्ब ७४ करोड रुपैयाँ बचत फिर्ता गर्न बाँकी छ ।’ बचत फिर्ता हुने नदेखिएपछि आफूहरू कानुनी प्रक्रियामा जाने तयारीमा रहेको खनालको भनाइ छ ।

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालय कालीमाटीमा रहे पनि महाराजगन्ज, न्युरोडलगायत स्थानमा शाखा सञ्चालनमा थिए । पछिल्ला दुई वर्षदेखि संस्थाले बचतकर्ताको पैसा फिर्ता दिन सकेको छैन । स्वर्णलक्ष्मीका सञ्चालकविरुद्ध गुनासो र उजुरी आइरहेको सहकारी विभागले पनि स्विकारेको छ ।

काठमाडौंमा सञ्चालित सहकारी वाग्मती प्रदेशको कार्यक्षेत्रभित्र रहेकाले आफूहरूकहाँ आएको उजुरी पनि उतै पठाइएको सहकारी विभागका उपरजिस्ट्रार टोलराज उपाध्यायले बताए । ‘जीबी राई समूहले सञ्चालन गरेका सबै सहकारी संस्थाविरुद्ध उजुरी आइरहेका छन् । तर, यो समूहले हरेक प्रदेशमा फरक नाममा सहकारी संस्था दर्ता गरेका छन् । यसकारण स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी विभागको कार्यक्षेत्रबाहिर छ, त्यसैले वाग्मती प्रदेशमा पठाइएको छ,’ उपाध्यायले भने ।

स्वर्णलक्ष्मी सहकारीबाट पैसा फिर्ता नभएको भन्दै गत पुससम्म पाँच सयभन्दा बढीले उजुरी गरेको वाग्मती प्रदेश, सहकारी मन्त्रालयको सहकारी महाशाखाले स्विकारेको छ । यद्यपि परेका उजुरी सम्बन्धमा प्रदेश कार्यालयले पनि कुनै कारबाही अघि बढाएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *