सहकारी हिनामिना प्रकरण : रवि लामिछानेसहित १८ जनाविरुद्ध अनुसन्धान सुरु

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान शुरु गरेको छ ।

सूर्यदर्शन सहकारीका पीडितले रवि लामिछाने, तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन लगायतविरुद्ध जाहेरी दिए पछि छानबीन शुरू गरिएको कास्की प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी  मोहनकुमार थापाले निवेदन प्राप्त भएपछि अनुसन्धान थालिएको बताए । ‘निवेदन आएको छ । सुरु दर्ताकै आधारमा अनुसन्धान थाल्छौँ,’उनले पर्दाफाससँग भने।

पीडितहरुले १४ संस्थाहरुविरुद्ध पनि जाहेरी दिएका छन्। सहकारीका सञ्चालक जिबी राईको समूहले गैरकानुनी तवरले सूर्यदर्शनबाट अरु विभिन्न संस्थामा रकम पठाउने, ऋण दिने गरेकाले ती संस्थाविरुद्ध पनि अनुसन्धान गर्नुपर्ने माग पीडितहरुको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि १९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।

काठमाडौंमा रहेको ग्यालेक्सी टिभीका अध्यक्ष रहेका जीबी राईसहितको समूहले सूर्यदर्शनको एक अर्ब ३५ करोड हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ। यसअघि नै जाहेरी परेका १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा चार जना प्रक्राउ परेका छन् भने बाँकी फरार छन् ।

सूर्यदर्शनका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक समिति सदस्य शिवबहादुर गुरुङ र सञ्चालक समिति सदस्य भविश्वर अर्याल अहिले पुर्पक्षका लागि थुनामा छन् ।

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको १ अर्ब रुपियाँभन्दा बढी रकम हिनामिना अभियोग लागेका पूर्वअध्यक्ष जीबी राई लगायतको विरुद्ध डिफ्युजन नोटिस जारी भइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *