कञ्चनपुर प्रहरी : इन्स्पेक्टर-जवान विवादको यस्तो छ भित्री कारण

कञ्चनपुरमा ‘लेडी सिंघम’ उपमा पाएकी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई अहिले एकजना पूर्वप्रहरी जवानले विवादमा तानेका छन्। ती जवानले इन्सपेक्टर शाहीकै कारण आफूले राजीनामा दिनुपरेको भन्दै विभिन्न आरोप लगाएपछि यो विवाद सतहमा आएको हो।

जिल्ला प्रहरी कार्यालय(जिप्रका) बाजुरा दरबन्दी रहेका प्रहरी जवान नविन नाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा काजमा रहेका थिए। गत असोज ६ गते भिमदत्त नगरपालिकाको उल्टाखाम चोकमा स्थानीयको झगडाका क्रममा कैलाली गोदावरीका गणेशराज भट्टको सुनको सिक्री हरायो। सो सिक्री स्थानीयले फेला पारेपछि सिक्री प्रहरी जवान नाथको जिम्मा लगाएका थिए।

नाथले भट्टलाई स्थानीयले बुझाएको जस्तै फिर्ता गर्नुपर्ने सिक्री टुक्रा–टुक्रा पारेर बुझाएपछि भट्टले प्रहरी कार्यालयमा गुनासो गरे। गुनासोपछि जवान नाथले पहिलो पटकमा एक टुक्रा, दोश्रो पटकमा एक टुक्रा गरेर आदीमात्रै भट्टलाई बुझाए। त्यति गरेरपनि सिक्रीको पुरै सुन नपाएपछि जिप्रका कञ्चनपुरमा निवदेन दिएपछि नाथले ती भट्टलाई एक लाख रुपैयाँ दिएर मनाए।                                                                                       

सिक्री धनी भट्टले प्रहरी जवान नाथले टुक्रापारि दिएको आफ्नो सुन अपुगहुँदा प्रहरीमा निवेदन दिएपछि नाथले १ लाख रकम दिएको बताएका छन्। सो रकम बुझाएपछि भट्टले कागजीरुपमा समेत सुन भेट्टाएको हस्ताक्षर गरेका छन्।

सोही घटनामा जिप्रका कञ्चनपुरले गत मंसिर १२ गते जवान नाथलाई प्रहरीको अभिलेखमा रहने गरी कारबाही गरेको र उनलाई काज फिर्ता गरी बाजुरा पठाएको थियो।

त्यहीँ सिक्री प्रकरणमा कञ्चनपुरमै रहेकै बेला जवान नाथले वैदेशिक रोजगारका लागि एक युरोपियन देशको भिषासमेत लगाएका थिए।

भिषा लगाएर विदेश उड्ने आन्तरिक तयारीमा रहेका जवान नाथ प्रहरीको विभागीय कारवाही र फेरि बाजुरा नै फर्किनुपर्ने भएपछि जागिर छोड्नका लागि मनस्थितिले झन् सहज तुल्यायो। बाजुरा पुगेको केही दिनपछि भिषा लाग्ने पक्कापक्की भएपछि उनले पुस ८ गते प्रहरी सेवाबाट राजीनामा बुझाएर कञ्चनपुरस्थित् घर फर्के। राजीनामा स्वीकृति प्रक्रियाका लागि त्यहीँ दिन उनकी पत्नी निर श्रेष्ठले पनि प्रहरीलाई मन्जुरीनामापत्र दिएकी थिइन।

राजीनामा स्वीकृतका लागि प्रदेश प्रहरी कार्यालय धनगढीमा उनले राजीनामा पत्र बुझाएर घर फर्केका थिए। घर फर्केको केही दिनपछि विदेशको भिषा आउन अझै करिब महिना दिनभन्दा बढी समय लाग्ने मेनपावर कम्पनीबाट बुझेपछि कम्तिमा एक महिनाको तलब खान पाउँ भन्दै जवान नाथले आफ्नो राजीनामा रोक्ने मनसाय बनाए। त्यहीँक्रममा उनले एक ठूलै नेताबाट प्रहरीलाई दवाब दिए। त्यतिबेला उनले आफ्ना केही आफन्तलाई यो कुरा आफैंले बताएका थिए।

तत्कालिन सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक भरतबहादुर बोहराले राजीनामा स्वीकृति गरिदिन भन्दै जवान नाथ कार्यालयमा आएपनि आफूले सम्झाएर पठाएको दाबी गर्छन्। ती नेताको भनसुनअनुसार महानिरीक्षक बोहराले नाथको राजीनामा रोक्नुको साथै २० दिनको बिदासमेत थपिदिएका थिए।

नाथको सो सिक्री प्रकरण र राजीनामा प्रकरणको बेला भने इन्सपेक्टर शाही काठमाडौंमा थिइन्। काठमाडौंबाट कञ्चनपुर पुगेको केही दिनमै इन्सपेक्टर शाहीले आफैं नेतृत्व गरेर गत पुस २१ गतेको मध्यराति ७ जना जुवाडेलाई पक्राउ गरेर हिरासतमा राखिन्।

हिरासतमा राखेको अर्को दिन अर्थात पुस २२ गते अपरान्ह करिब ४ बजेतिर ४ जनासहित ती नाथ जिप्रका कञ्चनपुरमा देखिए। पहिलापनि त्यहीँ बसेको प्रहरी भएकाले त्यहाँ डिउटीमा रहेका प्रहरीले पनि नाथ र नाथसँगै आएका अरुलाई पनि खास्सै केरकार गरेनन्।

गेटभित्र पसेर नाथसहित अन्य ३ जना ती पक्राउ परेका जुवाडे भेट्न अनुमति नलिई सिधैं हिरासत कक्षमा पुगे। नाथको उक्त गतिविधि हेरिरहेकी इन्सपेक्टर शाहीले अनुमति बिना अनुमति किन गएको भन्दै सोधपुछ गरिन।

इन्सपेक्टर शाहीले उनीहरुमाथि खानतलासी गर्न लगाउँदा सुर्ति र गुट्खा पाइएको पर्दाफासलाई बताइन्। उनले भनिन्, ‘जुवाडे भेट्न चार जना आएका थिए। मलाई त्यसमा प्रहरी पनि छन् भन्ने थाहा थिएन। प्रहरी भएपनि अनुमति बिना अफ टाइममा त्यसरी हिरासत कक्षमा जान हुँदैन थियो। मैले मेरो कार्यकक्षमा उनीहरूलाई खानतलासी गर्न लगाउँदा एक जनासँग २ पोका सुर्ती भेटियो। दुई जनासँग केहीपनि भेटिएन र एक जनासँग ८ पोका सुर्ती र प्लास्टिकमा राखेको गुट्खा भेटियो। त्यसपछि चार जनालाई हिरासतमा राखेका हौं। नाथ प्रहरी हुन भन्ने कुरा हिरासतमा थुनेपछि मात्रै थाहा पाए।’                                                                                                       

भोलिपल्ट ती चारै जनालाई सम्झाई बुझाई गरेर छोडिएको थियो।

जिप्रका कञ्चनपुरले जवान नाथलाई प्रहरी नियमावली विपरीत कार्य गरेको गतिविधिका विषयमा जानकारीसहित कारवाहीको अनुरोध गर्दै प्रदेश प्रहरी कार्यालय धनगढीलाई बोधार्थ र जिप्रका बाजुरालाई गत पुस २९ गते पत्राचार गरेको थियो।

 

‘पुस २३ गते जिप्रका कञ्चनपुरको हिरासतबाट छुटेका जवान नाथ २० दिनको छुट्टीमा घर बसेका थिए। जिप्रका बाजुराका अनुसार माघ १३ गते हाजिर हुनुपर्ने नाथ माघ १६ गते मात्रै कार्यालयमा हाजिर भएका थिए। उनले माघ १८ गते दोस्रो पटक पुनः राजीनामा दिए। १६ गते कार्यालयका हाजिर भए। अब विदेश जाने मान्छे किन ड्युटी गर्नु भन्थ्यो। ड्युटीमा खासै मन लगाएनन्। १८ गते फेरि राजीनामा दिए। मेरो त युरोपको भिषा लाग्यो अब जाने हो भन्दैथिए। यसरी भिषा लागे त म पनि जाने थिए भन्दै हाँसे।’ जिप्रका बाजुराका प्रवक्ता इन्सपेक्टर दानसिंह भण्डारीले भने।

उनका अनुसार राजीनामा स्वीकृति नहुन्जेल सम्पर्कमा नआएका नाथले माघ २० गते राजीनामा स्वीकृत भए–नभएको जानकारी लिएका थिए। उनले राजीनामा स्वीकृति भएको थाहा पाएपछि मात्रै इन्सपेक्टर शाहीका कारण राजीनामा दिएको अभिव्यक्ति सार्वजनिक गरेका थिए।

जवान नाथले एक्कासी माघ २२ गते इन्सपेक्टर शाहीका कारणले जागिरबाट राजीनामा दिनु परेको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए। कारागारमा आफूमाथि दुर्व्यवहार गरेको र बाजुरा रहँदापनि मानसिक तनाव दिएको भन्दै नाथ इन्सपेक्टर शाहीमाथि एकोहरो खनिए। तर, कुनै प्रमाण पेश गर्न सकेनन्।

नाथका निकटहरूका अनुसार उनी रोमानियाको भिषा प्रक्रियामा महिनादिन बढी लाग्ने भएकाले पहिलाको राजीनामा ठूलै नेताको पावर लगाएर रोकेको र अब भिषा आइसकेकाले फेरि राजीनामा दिन लागेको भन्दै हिँडेका थिए। स्थानीयका अनुसार नाथले विभिन्न गलत गतिविधिमा समेत संलग्न रहेका थिए।

जिप्रकाभित्रको आन्तरीक द्वन्द्व

इन्सपेक्टर शाहीले जिप्रका कञ्चनपुरमा हाजिर भएको १ वर्षपछि गत मंसिर १४ गते मुद्दाफाँटको जिम्मेवारी पाइन्। त्यसअगाडि इन्सपेक्टर पुष्करराज पन्तले मुद्दा फाँट हेर्दै आएका थिए। इन्सपेक्टर पन्त एक महिने तालिमको लागि भारत गएपछि इन्सपेक्टर शाहीले मुद्दाफाँटको जिम्मेवारी पाएकी थिइन्। प्रहरी ओहदामा शाहीभन्दा सिनियर रहेका पन्तलाई तालिमबाट फर्केपछि भने मुद्दा फाँटको जिम्मेवारी दिइएन।

स्रोतकाअनुसार तत्कालिन मुद्दा फाँटमा कार्यरत प्रहरी निरीक्षक पन्तले बाहिर राम्रो सम्बन्ध बनाएका थिए। तर, आफुले कमाण्ड गरेको ठाँउ फर्केपछि नपाउँदा यो विवादमा आन्तरीक द्वन्द्वले समेत मलजल गरेको स्रोतको दाबी छ।

यता प्रहरी भएरपनि रातभर हिरासत बसेको पीडा नाथमा थियो। यहीँ मौका छोपेर इन्सपेक्टर पन्तले आफू पुनः मुद्दा फाँटमा जानका लागि प्रहरी जवान नाथलाई प्रयोग गरेको स्रोतको दाबी छ।

इन्सपेक्टर शाही कञ्चनपुर आएपछि निगरानीमा कडाइ गरेकी थिइन्। स्रोतकाअनुसार उनले सीमा-नाकादेखि बजारको कालोबजारी र अनैतिक क्रियाकलापमा गहिरो नजर दिँदै कडाइ गरेकी थिइन्। यस्ता क्रियाकलापमा संलग्नहरूको रोजीरोटी बन्द हुने अवस्था आउन थालेपछि उनलाई फकाउन, प्रलोभनमा पार्नदेखि धम्काउनसम्म बिचौलियाहरू सक्रिय बनेका थिए। उनले कसैको कुरा नसुनेपछि बिचौलियाहरू नै योजनाबद्ध रूपमा शाहीविरुद्ध लागेको थिए।

उच्च प्रहरी अधिकारीकाअनुसार तत्कालीन जवान नाथ प्रहरी संगठनभित्र बदमास र अनुशासनहीन थिए।

को हुन् इन्स्पेक्टर शाही

कालिकोटको खाँडाचक्र नगरपालिका-१ मा जन्मिएकी शाही सानैदेखि साहसीक काममा रुची राख्नेहुँदा २०७७ सालमा प्रहरी इन्सपेक्टरमा नाम निकालिन। प्रहरी बन्नु अगाडि उनी राष्ट्रिय महिला टोलीकी रग्बी खेलाडी हुन्।

अंग्रेजी साहित्यमा स्नाकोत्तर सिध्याउन लागेकी इन्सपेक्टर शाही कञ्चनपुरमा भने २०७९ को कात्तिकदेखि हाजिर भइन्। हाजिर भएदेखि कञ्चनपुरको सुरक्षामा सफल अप्रेशन चलाएकी बिनालाई ‘लेडी सिंघम’को उपमा पनि यही कञ्चनपुरले दिएको हो।

माथिको तस्बिर : प्रहरी जवान नाथ  उनको हातमा रहेको ट्याटु

नोट :पर्दाफास डटकमले प्रहरी जवान नाथसँग सम्पर्कको हरसम्भव प्रयास गर्दा समेत उनीसँग सम्पर्क हुन सकेन्। -न्युज डेस्क

इन्स्पेक्टर शाहीले गरेका केही कार्यहरूको भिडियो क्लिप :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर