पाकिस्तान निर्वाचन : जेलमा रहेका खानलाई बलियो मत, गठबन्धन सरकार गठनको वार्तामा

पाकिस्तानले शनिबार सार्वजनिक गरेको अन्तिम केही निर्वाचन परिणाममा स्पष्ट बहुमत नदेखिए पनि जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानप्रति वफादार स्वतन्त्र उम्मेदवारको बलियो प्रदर्शन देखिएको छ। देशले नतिजाले आगामी केही दिन सरकार गठनका लागि राजनीतिक खरीद–बिक्रीको सामना गर्ने देखिएको छ।

खानको पार्टी पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) ले महिनौं लामो दमनको अवज्ञा गर्दै निर्वाचन अभियानलाई अघि बढाएको थियो। चुनावकै मुखमा पीटीआईका नेतालाई विभिन्न अभियोगमा जेल सजाय तोक्ने, यस पहिले पाएको चुनाव चिन्ह प्रयोग गर्न रोक लगाउने, प्रचारप्रसारमा अवरोध सिर्जना गर्नेजस्ता कार्यले पीटीआईले आफ्ना उम्मेदवारलाई स्वतन्त्ररूपमा निर्वाचनको मैदानमा उभ्यायो।

पाकिस्तानी राजनीतिमा संस्थापन पक्षको व्यापक जालझेलबीच मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवारले सशक्त नतिजा निकाल्न सफल भएको छ। यसले उनीहरूका मुख्य प्रतिद्वन्द्वीहरूलाई अझै पनि चुनौती दियो।

परिणाममा लामो ढिलाइपछि सैन्य प्रतिष्ठानले मतदानमा धाँधली गरेको आरोप पीटीआई नेताहरूले लगाएका छन्।

सेनाको समर्थन रहेको भनिएको पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल–एन) ले सबैभन्दा बढी सिट प्राप्त गर्ने पार्टीको रूपमा विजयको घोषणा गरेको छ। तीन पटकका पूर्वप्रधानमन्त्री नवाज सरिफले स्थापना गरेको पार्टीले सरकार गठनका लागि प्रतिद्वन्द्वी र स्वतन्त्र उम्मेदवारसँग सम्झौता गर्न बाध्य हुने देखिएको छ।

पाकिस्तानी सेना प्रमुखले शनिबार चुनाव ‘जित र हारको शून्य योगफलको प्रतिस्पर्धा’ नभएको भन्दै राजनीतिक ध्रुवीकरण अन्त्य गर्न आग्रह गरेका छन्। ‘अराजकता र ध्रुवीकरण’ को राजनीतिबाट माथि उठ्न राष्ट्रलाई स्थिर हात र उपचारात्मक स्पर्शको खाँचो छ,’ सेना प्रमुख जनरल सैयद असीम मुनिरलाई उद्धृत गर्दै सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

शुक्रबार अबेरसम्म विभिन्न दलका नेताहरु वार्ताका लागि पीएमएल–एनको शक्ति केन्द्र लाहोरपुगेका समाचारहरु आएका थिए।

लाहोरस्थित आफ्नो पार्टी मुख्यालयमा सरिफले भने, ‘हामीसँग सरकार सञ्चालन का लागि पर्याप्त बहुमत छैन, त्यसैले हामीसँग काम गर्न सफल भएका अन्य दल र उम्मेदवारलाई आमन्त्रण गर्दछौं।’

निर्वाचनमा व्यापक सहभागिता जनाउन र मतदान गर्न मतदान केन्द्रमा अनिवार्य उपस्थित हुन मतदातालाई गरिएको पीटीआईको प्रचारमा प्रयोग भएको र एआईले खानको आवाजमा तयार पारिदिएको भिडियो नै पीटीआई समर्थक ‘स्वतन्त्र’ उम्मेदवारको विजयका लागि महत्वपूर्ण भएको बताइएको छ।

एक वर्ष अघि खानको वास्तविक आवाजमा गरेका सम्बोधन र उहाँको आवाजलाई कपी गरी एआईले सिर्जना गरेको भिडियो क्लिपमार्फत् निर्वाचनको प्रचारप्रसार गरिएको थियो। -रासस/एएफपी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर