सात महिनामै किन लिए साढे सातलाखले प्रहरी रिपोर्ट?

नेपाल प्रहरीले चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको अवधिमा ५ लाख ५० हजार ६० जनालाई अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) उपलब्ध गराएको बताएको छ।

सो अवधिमा ७ लाख १० हजार ९४४ जना नेपाली तथा विदेशी नागरिकहरूबाट अनलाइन आवेदन प्राप्‍त भएको र तीमध्ये १ लाख ४४ हजार २१२ वटा आवेदन रद्द भएको प्रहरीले जनाएको छ।

यस्तै, १६ हजार ६ सय ७२ आवेदन कार्यान्वयनको क्रममा रहेको प्रहरीले जनाएको छ।

विभिन्न प्रयोजनका लागि चारित्रिक प्रमाणपत्र लिनका लागि अनलाइन निवेदन दिने स्वदेशी तथा विदेशी नागरिकहरूलाई प्रहरीले चारित्रिक प्रमाणपत्र उपलब्ध गराउने गरेको जनाएको छ।

प्रहरीको वेबसाइटबाट सेवाग्राहीले जुनसुकै ठाउँबाट अनलाइन फर्म भर्न सक्ने र स्वदेशमा भएका नेपाली नागरिकहरूले अनलाइन निवेदन दिँदा राहदानी, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने बताइएको छ।

विदेशमा रहेका नेपाली नागरिकहरूले राहदानीको पृष्ठ नम्बर २ र ३, अन्तिम पटक नेपाल छोड्दाको अध्यागमन विभागको छाप भएको पृष्ठ, नागरिकता, विवाहितको हकमा विवाह दर्ताको स्क्यान कपि र हालसालै खिचिएको पासपोर्ट साइजको रंगीन फोटो समावेश गर्नुपर्ने र आवश्यक कागजातहरूसहितको निवेदन पेश गरेको करिब ५ दिनभित्र आवश्यक प्रकृया पूरा भएपछि निवेदककै युजर आइडीमा प्रहरी रिपोर्ट पठाइने व्यवस्था भएको प्रहरीले जनाएको छ।

अनलाइनबाट प्रहरी चारित्रिक प्रमाणपत्र वितरण सुरूवात २०७६ असोज २४ गतेदेखि भएको प्रहरीले जनाएको छ।

सुरूवातदेखि हालसम्म ३१ लाख ४० हजार ९८ जनाले आवेदन दिएका र तीमध्ये नेपाली नागरिकले स्वदेशबाट २८ लाख ९५ हजार २०२, नेपाली नागरिकले विदेशबाट २ लाख ३६ हजार १०, विदेशी नागरिकबाट ७ हजार ८९९ र शरणार्थीबाट ९ सय ८७ वटा आवेदन प्राप्त भएका थिए।

ती आवेदनमध्ये २३ लाख १७ हजार ६७३ जना स्वदेशी तथा विदेशी नागरिकहरूलाई प्रहरी चारित्रिक प्रमाणपत्र उपलब्ध गराइएको थियो । हाल दैनिक ३ हजार ५ सयदेखि ५ हजार ३ सयसम्म अनलाइन आवेदन प्राप्‍त हुने र तीमध्ये सामान्यतया ४ हजार प्रमाणपत्र उपलब्ध गराइने गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *