आन्तरिक लोकतन्त्र र नियमको पालना हुनुपर्छ : प्रमुख थपलिया

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताएका छन्।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उनले अहिले उठिरहेका असन्तुष्टिका स्वर र कतिपय विषयवस्तु राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रसँग जोडिएर सार्वजनिक भएको प्रतिक्रिया दिए।

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘राजनीतिक दलको आन्तरिक लोकतन्त्र व्यवस्थित गर्न र नियमको पालना हुन नसक्दा दलसम्बन्धी उजुरी, गुनासो तथा मुद्दा मामिला आयोग र न्यायिक निकायमा क्रमशः बढ्दै गएको छ।’

मतदाता सार्वभौम सम्पन्न भएको र निर्वाचनमा राजनीतिक दल तथा उम्मेदवारबाट मतदाताको मत खरिद वा बिक्री हुन्छ भन्ने कल्पनासम्म गर्न सकिन्न भन्दै प्रमुख आयुक्त थपलियाले मतदाता पैसामा बिक्री हुने वस्तु हो र? भन्दै प्रतिप्रश्न गरे।

निर्वाचन प्रणाली आफैँमा सस्तो र महँगो नहुने हुँदा प्रणालीबारे आयोगको कुनै टीकाटिप्पणी नहरने उनको भनाइ थियो। मुलुकलाई समृद्ध र लोकतन्त्रलाई सुदृढ तुल्याउने जिम्मेवारीमा रहेका दलका कार्यकर्ता र उम्मेदवारहरुले निर्वाचनमा मरेका मानिसका नाममा मतदान गर्न प्रेरित गर्छन् भन्नेमा विश्वास गर्न नसकिने बताए।

राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक महिला हुनुपर्छ भन्ने आयोगको चाहना रहेको बताउँदै प्रमुख थपलियाले लोकतान्त्रिक व्यवस्थाको निर्वाचनमा जाँदा राजनीतिक दलले आफ्ना एजेण्डा लिएर मतदातामा जानुपर्ने बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *