६ अर्ब १८ करोड लागतमा यस्ताे बन्नेछ लुम्बिनी प्रादेशिक अस्पताल

रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शय्याको आधुनिक अस्पताल भवन बन्ने भएको छ।

अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन नभएको, कहिले ठेक्का प्रक्रिया नमिलेको त कहिले के भन्दै रोकिएको लुम्बिनी प्रादेशिक अस्पतालको गुरुयोजना अनुसारको पुराना संरचना हटाएर नयाँ बन्ने कार्य रोकिएको थियो।
यस क्षेत्रको एक सय १४ वर्ष पुरानो लुम्बिनी प्रादेशिक अस्पताल योजना बनेको लामो समयसम्म पछि निर्माणको बाटो खुलेको छ ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत यी नयाँ भवनको निर्माण कार्य अगाडि बढेका छन् । अब बन्ने अस्पतालको मुख्य भवन अन्डरग्राउन्ड सहित १२ तलाको हुनेछ भने क्यान्सर उपचारका लागि अन्डरग्राउन्ड सहित पाँच तलाको अलग्गै भवन ‘ओन्कोलोजी ब्लक’ बन्ने भएको छ।

बुटवल उपमहानगरपालिकाको वडा नम्बर ९ मा रहेको ६ बिघा १२ कट्ठा जग्गामा यी अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीइओ) इन्जिनियर छविराज पोखरेलले बताए ।

हालको तीन सय (सीमितबाट थप भएका समेत गरी ५ सय) शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम एक हजार २०० शय्याको क्षेत्रीय बहु अनुशासनात्मक अस्पतालमा स्तरोन्नति गर्ने प्रस्ताव गरिएको सीइओ इन्जिनियर पोखरेलको भनाइ छ ।

विशेषज्ञ सेवासहितको अत्याधुनिक अस्पताल भवन निर्माणका लागि लुम्बिनी प्रदेश सरकारले यसअघि नै गुरुयोजना बनाएको थियो । प्रदेश सरकार मातहतमा रहेको अस्पतालको गुरुयोजना तथा भवनको ड्रोइङ र डिजाइनलाई यसअघि नै मन्त्रिपरिषद्ले पारित गरेको थियो ।

प्राधिकरणले चरणबद्ध निर्माणमा आधुनिक स्वास्थ्य उपचार सुविधासहित १२ सय शय्याको अस्पताल निर्माण गर्ने प्रस्ताव गरेको र सबै प्रक्रिया पूरा भएर निर्माण कार्य सुरु हुने चरणमा पुगेको सिइओ इन्जिनियर पोखरेलले बताए । एउटा आधुनिक अस्पतालका लागि आवश्यक पर्ने सबै खाले सुविधासहितको विशेष अस्पताल भवन निर्माणको प्रस्ताव गरिएको पोखरेलले बताए।

पहिलो चरणमा अस्पतालको सबैभन्दा पुराना भवन र संरचनाहरू हटाइने छ । जोखिमरहित तरिकाले उपचारमा कुनै डिस्टर्व नहुने गरी पुराना संरचनाहरूलाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जानकारी दिए ।

यो ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले नै समन्वय गरेर हटाउने तयारी थालेको थापाको भनाई छ। उनले पहिलो चरणमा हटाउनुपर्ने भवन परिसरलाई बार बन्देज गरेर सुरक्षित तरिकाले हटाउन लागिएको र परिसरमा रहेका रुखहरूका बारेमा पनि सम्बन्धित कार्यालयसँग समन्वय भइरहेको डाक्टर थापाको भनाइ छ ।

नयाँ बन्ने अस्पताल भवनको अगाडिको भागमा अत्याधुनिक बहिरङ्ग सेवा (ओपिडी), आपतकालिन (इमर्जेन्सी), इनडोर सर्भिस कक्ष रहनेछन् । साथै विशिष्ट कृत ग्याष्ट्रो, न्युरो, कार्डियोलोजीलगायतका सबै विशेषज्ञ सेवा एउटै भवनबाट व्यवस्थित तरिकाले प्रदान गर्ने गरी संरचना निर्माण हुनेछन् ।

हाल उपचारका लागि प्रयोगमा रहेका तीन वटा नयाँ भवनमा डाइग्नोष्टिक एन्ड रिसर्च, प्रसूति र महिला तथा बाल रोगको उपचारका लागि प्रयोग गरिने थापाको भनाइ छ । भवनको माथि हेलिप्याडसमेत रहने उल्लेख गरिएको छ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा आउजाउ गर्न मिल्ने व्यवस्थित लिफ्टसमेत बन्नेछ ।

सम्झौता भएको पाँच वर्षमा ९२०८५ साल पुसमा० निर्माण सक्ने गरी हालै भवन निर्माणको सम्झौता भएको छ । प्रतिष्ठित अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्त रूपमा काम गर्ने गरी गत पुस २६ गते सम्झौता भएको हो । अहिले अस्पताल भवन निर्माणका लागि निर्माण कम्पनी फिल्डमा आइसकेको छ ।

अस्पताल भवन निर्माणको शिलान्यासका लागि प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश सरकारसँग समन्वय गरिरहेको प्राधिकरणका साइट इन्जिनियर रमेश शर्माले बताए । मातहतका प्रमुखहरूसँग आवश्यक परामर्श र समन्वय भइरहेको बताउँदै प्रक्रिया पूरा गरेर शिलान्यास गरिने,’ इन्जिनियर शर्माले बताए।

अस्पतालमा अहिले तीन सय बेडको सरकारी र एक सय बेड समितितर्फ गरी चार सय बेड स्वीकृत भएको भए पनि पाँच सय २४ बेड सञ्चालनमा रहेको छ । अस्पतालमा बहिरङ्ग सेवाहरूमा जनरल मेडिसिन, न्युरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरी, मनोरोग सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा नेत्रबहादुर रानाले बताए।

लुम्बिनी प्रादेशिक ४० लाख जनसङ्ख्यालाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर