कांग्रेस नेता भण्डारीको नेतृत्वमा हिन्दूराष्ट्र स्थापना महाअभियान घोषणा

नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा भएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा महाभियानको घोषणा भएको हो ।

अभियानको महासचिवमा कांग्रेसका केन्द्रीय सदस्य, प्रदेशसभा सदस्य एवम् विराटनगर नगरपालिकाका पूर्वप्रमुख भीम पराजुली र केन्द्रीय सदस्य एवम् सांसद मुक्ताकुमारी यादव छन् । कार्यक्रममा नेता भण्डारीले हिन्दूराष्ट्र नेपालको महाअभियानमा साथ दिनका लागि पार्टीका नेता, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिसहित कार्यकर्ता र शुभेच्छुकहरूमा आग्रह गरेका छन् ।

शुक्रबार भण्डारीको समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्रसमेत बुझाएको थियो । कांग्रेसका २२ केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित धार्मिक एजेन्डालाई महासमितिमा छलफलको विषय बनाउन माग गर्दै उक्त समूहले पत्र बुझाएको थियो ।

महासमितिमा प्रस्तुुत हुने प्रस्तावहरुमा धार्मिक मुद्दालाई पनि एजेन्डाको रुपमा समावेश गर्नुपर्ने माग उनीहरुले कांग्रेसको केन्द्रीय समितिको बैठकमा गरेका थिए ।

संविधानबाट धर्म निरपेक्षता हटाएर वैदिक सनातन धार्मिक स्वतन्त्रता राख्नुपर्ने मत उक्त समूहको छ । कांग्रेस महासमितिका धेरै सदस्य तथा आम जनताको पनि यही मत भएकाले हिन्दूराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क उक्त समूहको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर