एमाले र रास्वपाले मागे भौतिक पूर्वाधारमन्त्री ज्वालाको राजीनामा

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् । आज प्रतिनिधि सभाको बैठकमा उक्त दलका नेताहरुले मन्त्री ज्वालाको राजीनामा मागेका हुन् ।

ललितपुरको बालकुमारीमा गत पुस १३ मा दुई युवाको ज्यान जाने गरी भएको घटनामा छानबिन आयोगले मन्त्री ज्वालासहित ३ जनालाई दोषी देखाएको थियो । आयोगले गत शुक्रबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा मन्त्री ज्वाला, फिल्ड कमान्डर डीएसपी उमेश लम्सा र मन्त्रीका पीएसओ बोधराज दनुवारलाई घटनाको दोषी मानिएको थियो ।

संसदमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले मन्त्री ज्वालालाई बर्खास्त गर्न माग गरेका छन् । ‘नेपाल सरकारले बनाएको आयोगले निष्कर्ष निकाल्यो, सरकारको मन्त्री दोषी भन्यो । तर सरकारका मन्त्री मुख्य दोषी भनेर किटान गरेको आज २८/३० घण्टा बितिसक्दा समेत मन्त्री पदमा बहाल हुनुहुन्छ । प्रधानमन्त्रीज्युले मुख्य दोषी भनिएको मन्त्रीलाई आजसम्म बर्खास्त गरिएको सूचना पाएनौँ । हामी सुन्दै छौँ, सामान्य सिपाईहरुलाई कारबाहीको डण्डा अनि मन्त्रीहरुलाई उन्मुक्ति, यो हुन सक्दैन । सिपाईलाई डण्डा, मन्त्रीलाई झण्डा, जनतालाई ऐन ठूला मन्त्रीहरुलाई चैन यो कुन खालको विधिको शासन हो ? सरकारको सुशासन यहीँ हो ? यो गम्भीर प्रश्न गर्न चाहन्छौँ । त्यसकारण अविलम्व त्यस घटनासँग जोडिएका मन्त्री र सिंगो गृहप्रशासन नेतृत्व गर्ने गृहमन्त्री पनि यसमा जोडिने अवस्था छ । यसतर्फ पनि सभामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि त्यो घटनामा जोडिएका मन्त्रीहरुलाई अविलम्व जिम्मेवारीबाट हटाइयोस् । बर्खास्ती गरियोस्,’ उनले भने ।

उनीपछि बोलेका रास्वपाका सभापति रवि लामिछानेले बालकुमारी घटनामा मन्त्री नै दोषी देखिएको भन्दै आयोगले निष्कर्ष निकाल्दा पनि प्रधानमन्त्री र मन्त्रीले नैतिकताको प्रदर्शन नगरेको बताए । ‘भौतिक पूर्वाधार मन्त्री नै दोषी रहेको कुरा जुन भन्दै आइएको थियो, त्यो प्रतिवेदनले पनि स्पष्ट पा¥यो । यति स्पष्ट पारिसक्दा पनि अहिलेसम्म न मन्त्रीले नैतिकताको प्रदर्शन गर्नु भएको छ न सरकार, न प्रधानमन्त्रीले,’ उनले भने ।

बालकुमारीमा कोरिया भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने मागसहित युवाहरुले गरेको प्रदर्शनको मन्त्री ज्वालाको गाडीमा आगजनी भएको थियो । घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर