भरतपुर विमानस्थल विस्तारका लागि सोमबारदेखि सर्वे हुने

भरतपुर विमानस्थल विस्तारको प्रक्रिया अघि बढ्ने भएको छ । नेपाली सेनाको घोडा प्रजनन केन्द्र शक्तिखोरमा स्थानान्तरण गरेर धावनमार्ग बिस्तार गर्न लागिएको हो ।

विस्तारका लागि सर्वे गरी डिजाइन गर्नुका साथै डिजाइन अनुरुप ओएलएस (अप्सट्रेकल लिमिटेशन सर्वे) गरिने छ । सर्वेको काम सोमबारदेखि सुरु गरिने भएको हो । गत शुक्रबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको अध्यक्षतामा बैठक बसेर सर्वे थाल्ने सहमति भए अनुरुप काम सुरु हुन लागेको हो ।

भरतपुर विमानस्थलका प्रमुख दीपक बिकका अनुसार आज नै प्राविधिकहरुको टोली चितवन आइपुग्दै छ । ‘एक हप्ताभित्र सर्वेको काम सम्पन्न हुनेछ,’ उनले भने । सर्वेको नतिजा आएपछि डिजाइनअनुसार बजेट सुनिश्चित गरेर विस्तारको काम अघि बढाइने छ ।

यस्तै समग्र विमानस्थल विस्तार सहजीकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाली सेना र महानगरपालिकाको प्रतिनिधि सम्मिलित सहजीकरण समिति गठन गर्ने सहमति भएको छ । गत माघ १८ मा बसेको मन्त्रिपरिषद् बैठकले सैनिक संरचना हटाएर भरतपुर विमानस्थल विस्तार गर्ने निर्णय गरेको थियो । संरचना सार्दा हुने खर्च नागरिक उड्डयन प्राधिकरणले बेहार्ने छ ।

विमानस्थलसँगै नेपाली सेनाको घोडा प्रजनन केन्द्र लगायत संरचना छन् । कूल ५८ बिघा क्षेत्रफलमा विमानस्थल विस्तारका लागि १९ बिघा जमिन आवश्यक पर्छ । अहिले एक हजार दुई सय मिटरको धावनमार्ग रहेको विमानस्थलमा उत्तर–पश्चिमतर्फ चार सय १२ मिटर बिस्तार गर्ने योजना छ । यसअनुसार विमानस्थलको धावनमार्ग कम्तीमा एक हजार पाँच सय मिटरको बनाउनुपर्नेछ ।

ठूला जहाजसमेत चल्ने गरी विमानस्थल विस्तार हुनेछ । हाल विमानस्थलको धावनमार्गको लम्बाई कम भएकाले ठूला जहाज उडान–अवतरण गर्न सक्दैनन् । विमानस्थल विस्तार भएपछि यहाँबाट रात्रिकालिन उडान, ठूलो क्षमताका जहाज, धेरै वटा उडान सुरु हुने र हवाई इन्धनको पनि सेवा उपलब्ध हुने हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर