एमालेले मधेसका मु्ख्यमन्त्री यादवलाई विश्वासको मत नदिने

नेकपा एमालेले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । एमालेले आज मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत नदिने निर्णय गरेको हो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् ।

एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सरकारको कामकारबाही सन्तोषजनक नभएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरेको बताए । ‘सरकारको गतिविधि त्यति सन्तोषजनक छैन । यस्तो सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षको पनि मानमर्दन भइरहेको छ । त्यसैले आजको दलको बैठकबाट समर्थन फिर्ता लिने निर्णय भएको हो,’ यादवले भने ।

गत माघ ९ मा जनमत पार्टीले मधेश सरकार छाड्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन लागेका हुन् ।

जनमत पार्टीले सभामुख रामचन्द्र मण्डललाई पत्र लेख्दै एमालेले सरकारलाई समर्थन कायमै राखेकाले आफूहरुलाई प्रमुख प्रतिपक्षी दलको हैसियत दिन आग्रह गरेको थियो । एमालेले मुख्यमन्त्री यादवलाई दुई पटकसम्म विश्वासको मत दिँदै प्रमुख प्रतिपक्षीको बेन्चमा बस्दै आएको छ ।

जनमत पार्टीले प्रमुख प्रतिपक्षीको बेन्चमा दाबी गरेपछि एमालेले समर्थन फिर्ता लिन लागेको एमालेका एक प्रदेश सभा सदस्यले बताए । ‘आज एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिए प्रमुख प्रतिपक्षी दलको पद गुम्छ । त्यसैले समर्थन फिर्ता लिन लागिएको हो,’ ती प्रदेश सभा सदस्यले भने ।

मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् । यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९, जनमतका १३, माओवादी केद्रका ९, लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी, राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन् । जनमतले सरकारलाई विश्वासको मत नदिने जनमतका सचिव बीपी साहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर