प्रहरी र सशस्त्रका प्रमुखसँग सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगको छलफल

सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रमुखसँग आइतबार छलफल गरेको छ ।

आयोगले नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर र सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालसँग भन्सार तथा राजस्वसम्बन्धी निकायमा सुरक्षाकर्मीको उपस्थिति तथा कामबारे छलफल गरेको आयोगका एक सस्यले बताए । यसअघि आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख किरण बज्राचार्यलगायतसँग पनि छलफल गरेको थियो ।

यस्तै, विगतमा सुन तस्करी मुछिएका व्यक्तिहरुसँग पनि सोधपुछ तथा बयान लिएको आयोगका ती सदस्यको भनाइ छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा सुन तस्करी भएको विषयको छानबिन गर्न सरकारले यही असोज १४ मा उच्च अदालतका पूर्व न्यायाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा चार सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यमा पूर्व सहसचिवद्वय किशोरजंग कार्की र प्रेमराज जोशी तथा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा छन् ।

राजस्व अनुसन्धान विभागको टोलीले गत साउन २ मा त्रिभुवन विमानस्थलको भन्सारबाट पास भएर बाहिरिँदै गरेको ६१ किलो सुन बरामद गरेको थियो । पछि यस घटनामा सीआईबीले पनि छानबिन गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल एमालेको मागपछि सरकारले आचार्यको संयोजकत्वमा सुन तस्करी सम्बन्धमा छानबिनका लागि आयोग गठन गरेको होे । आयोगलाई ३ महिनाको समय दिए पनि छानबिन नसकिएपछि थप २ महिना म्याद थप गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर