अध्यागमन विभागका महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डका तत्कालीन सदस्य रहँदा तामाङले भ्रष्टाचार गरेको आरोप लगाउँदै अख्तियारले आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

मेलम्ची खानेपानी आयोजनाको निर्माणमा संलग्न सीएमसी कम्पनीलाई काम नै नगरी भुक्तानी गरेको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेसिन र अन्य निर्माण सामग्री सीएमसीले प्रयोग गरेबापतको शुल्क नकाटी भुक्तानी गरेको, पछिल्लो बिलबाट समायोजना गर्ने भनिएको बढी भुक्तानी रकम समायोजन नगरिएको भन्दै तामाङसहित १४ जना र परामर्शदाता तथा निर्माण कम्पनी सीएमसीविरुद्ध अख्तियारले मुद्दा गरेको छ ।

अख्तियारले तामाङबाट ११ करोड ९ लाख रुपैयाँ बिगो, जरिवाना तथा कैद सजायको माग गरेको छ । सरकारले २०७० असार ३१ मा सीएमसीसँग ७ अर्ब ७२ करोड रकममा मेलम्ची खानेपानी योजना निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

तर, काम नै नसकी उक्त कम्पनी २०७५ मंसिर २९ मा भागेको थियो । त्यस अवधिसम्म कन्ट्रयाक्टर, कन्सल्ट्यान्ट र कर्मचारी तिनै पक्षको संलग्नतामा भएका काम ठेक्का सम्झौता र सार्वजनिक खरिद ऐनविपरीत देखिएको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *