कांग्रेस महासमिति बैठक बहिष्कार गर्ने प्रेस युनियनको घोषणा

नेपाल प्रेस युनियनले कांग्रेसको महासमिति बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । महासमितिमा संगठनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा गम्भीर ध्यानाकर्षण भएको भन्दै युनियनले बहिष्कारको निर्णय गरेको हो ।

कांग्रेसको महासमिति बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । बैठक बहिष्कारको निर्णय गर्ने युनियन कांग्रेससँग सम्बद्ध पत्रकारहरुको संगठन हो ।

संगठनका अध्यक्ष शिव लम्सालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको महासमिति बैठकका सन्दर्भमा नेपाल प्रेस युनियनको नवौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भई क्रियाशील रहेको अवस्थामा प्रचलित विधान, परम्परा र नैतिक मूल्यको समेत परबाह नगरी महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ ।’

लोकतान्त्रिक अभ्यासबाट निर्वाचित युनियन केन्द्रीय समितिको कार्यक्षेत्रमाथि गरिएको हस्तक्षेप स्वीकार्य नभएको पनि लम्सालले जनाएका छन् । ‘कांग्रेस केन्द्रीय निर्वाचन समितिले विधानको अपव्याख्या गरी गरेको निर्णयले प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति भर्त्सना गर्दै लम्सालले यथास्थितिमा कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने जनाएका छन् । उनले कांग्रेसको अलोकतान्त्रिक निर्णयविरुद्ध गोलबद्ध हुन र प्रेस युनियनको गरिमामाथि गरिएको प्रहारको प्रतिवाद गर्न आह्वान पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर