कांग्रेस महासमिति बैठक : यी तीन एजेन्डामा किन हुँदै छ विवाद ?

कांग्रेसको महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । कांग्रेसको नीति पनि पारित गर्ने भएकाले यो बैठक महत्वपूर्ण मानिएको छ ।

यसपटकको बैठक चुनावी गठबन्धन, निर्वाचन प्रणाली, संविधान संशोधन, कांग्रेसको आगामी महाधिवेशन निर्वाचनजस्ता एजेन्डामा केन्द्रित हुने भएको छ । तर, यी एजेन्डामा पनि संस्थापन र प्रस्ताव राख्ने पक्षबीच मतविभाजन देखिएको छ ।

चुनावी गठबन्धन
कांग्रेसका महामन्त्री गगन थापाले अब हुने कुनै पनि तहका निर्वाचनमा चुनावी गठबन्धन (प्रिइलेक्सन एलायन्स) गर्न नहुने प्रस्तावसहित आफ्नो दस्तावेज ल्याएका छन् । कांग्रेस केही वर्षयता माओवादी केन्द्रलगायत दलसँग गठबन्धनमा छ । चुनावमा पनि गठबन्धन गर्ने कांग्रेसको नीतिप्रति भने कांग्रेसकै नेताहरुले आलोचना गर्दै आएका छन् ।

महामन्त्री थापाले पनि चुनावपछि राष्ट्रिय आवश्यकताका आधारमा सरकार गठनका लागि गठबन्धन गर्न सकिने भए पछि चुनावअघि नै गठबन्धन गर्न नहुने प्रस्ताव सारेका छन् । थापाको प्रस्तावले अहिले कांग्रेसमा हलचल मच्चिएको छ ।

यदि उक्त प्रस्ताव पारित भएमा माओवादीसँगको सत्ता गठबन्धनमा समस्या हुनसक्ने सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुलाई भय बढेको छ । संस्थापन पक्षले हालको गठबन्धनमा असर पर्न सक्ने भन्दै थापालाई आफ्नो प्रस्ताव संशोधन गर्न आग्रह गरे पनि थापाले मानेका छैनन् ।

महाधिवेशनको मिति

महामन्त्री थापाले उठाएको अर्को प्रस्ताव हो, कांग्रेसमा दुई वर्षअघि नै १५औं महाधिवेशनको तालिका तयार गर्नु । थापाले ०८२ को मंसिरमा महाधिवेशन हुनुपर्ने प्रस्ताव गरेका छन् । र, त्यसलाई यही महासमितिबाट तय गर्नुपर्ने उनको प्रस्ताव छ ।

यो प्रस्तावप्रति पनि संस्थापन पक्षले असन्तुष्टि जनाएको छ । संस्थापन पक्ष चुनाव सारेर ०८३ मा पु¥याउने ध्येयमा छ । कांग्रेसको महाधिवेशन ०८२ मा गर्नुपर्ने भए पनि १ वर्ष सार्न पाउने व्यवस्था छ । त्यतिबेलासम्म सभापति देउवा सत्ता आलोपालो चलाउने सहमतिअनुसार प्रधानमन्त्री बन्ने सम्भावना छ ।

दुईपटकको कार्यकालले देउवा सभापति बन्न नपाउने भए पनि उनी आफूअनुकूल नेतालाई सभापति बनाउने प्रयत्नमा छन् । ०८४ मा चुनाव पनि हुने भएकाले त्यसअघि चुनावको टिकट बाँड्ने र अन्य माध्यमबाट नेताहरुलाई आफ्नो पक्षमा पारेर निकटको व्यक्तिलाई सभापति बनाउने देउवाको चाहना छ । त्यसैले महाधिवेशन मितिको विषयले महासमितिको बैठक तताउने देखिएको छ ।

हिन्दूराष्ट्रको माग

कांग्रेसमा अहिले हिन्दूराष्ट्रको माग पनि उठेको छ । कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वको समूहले अहिले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियान घोषणा गरेको छ भने यो विषयलाई महासमितिमा उठाउन सभापति देउवालाई पत्र समेत बुझाएको छ ।

महासमितिमा प्रस्तुुत हुने प्रस्तावहरुमा धार्मिक मुद्दालाई पनि एजेन्डाको रुपमा समावेश गर्नुपर्ने माग उनीहरुले कांग्रेसको केन्द्रीय समितिको बैठकमा गरेका थिए ।संविधानबाट धर्म निरपेक्षता हटाएर वैदिक सनातन धार्मिक स्वतन्त्रता राख्नुपर्ने मत उक्त समूहको छ । कांग्रेस महासमितिका धेरै सदस्य तथा आम जनताको पनि यही मत भएकाले हिन्दूराष्ट्रको पक्षमा कांग्रेस उभिनुपर्ने तर्क उक्त समूहको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *