प्रधानमन्त्रीले असफलसिद्ध व्यक्तिलाई त्रिविको उपकुलपति नियुक्त गर्दै छन् : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले असफलसिद्ध व्यक्ति त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त हुन लागेको भन्दै असन्तुष्टि जनाएका छन् ।

उपकुलपति छनोटमा भागबण्डा नभई एकलौटी गर्ने नयाँ तरिकाअनुसार प्रधानमन्त्री पुष्पकमल दाहालले असफलसिद्ध भइसकेको व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति बनाउन लागेको ओलीको जिकिर थियो ।

सोमबार काठमाडौंमा आयोजित राष्ट्रसेवक सहकारी संस्था लिमिटेडहरुको पाँचौं राष्ट्रिय सहकारी भेलामा बोल्दै उनले ३ जना असफलसिद्ध भइसकेका व्यक्तिलाई छनोट गरेर सरकारले तीमध्ये पनि सबभन्दा असफल तेस्रो नम्बरका व्यक्तिलाई सो विश्वविद्यालयको उपकुलपति नियुक्त गर्लान् भन्ने अनुमान आफूले गरेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वको सिफारिस समितिले चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम प्रधानमन्त्रीलाई सिफारिस गरेको छ । त्यसमा पनि तेस्रो नम्बरका व्यक्ति उपकुलपति हुने ओलीको अनुमान थियो । अध्यक्ष ओलीले वर्तमान सरकारले सत्ताका लागि जस्तोसकै काम गर्न पनि पछि नपरेको दोहो¥याए ।

‘गठबन्धनका सबै सत्ताका लागि जेसुकैमा पनि कम्परमाइज गर्नेहरु हुन् । जेका लागि पनि कम्परमाइज गर्दछन् । त्यो खालको स्थिति अझै पनि छँदै छ । अहिले त नयाँ तरिका निकालेको छ–भागबण्डा नगर्ने, एकलौटी गर्ने । अहिले चाहीँ मेरिटोक्रेसीको आधारमा लिने, एउटा समिति बनाउने, छानबिन गर्ने, यताउता गर्ने । अनि, असफलसिद्ध भइसकेका मान्छेहरुको छनोट गर्ने । अहिले ३ जना सिफारिस भएको छ क्यार । तीन जनामा पनि तेस्रो नै नियुक्त होला जस्तो लाग्छ मलाई त छाँटकाँट हेर्दा । किनभने अलि बढ्तै असफल भएको मान्छे चाहियो नि,’ उनले भने ।

‘डेमोक्रेटिक म्यानर, डेमोक्रेटिक बिह्याविअर, डेमोक्रेटिक प्राक्टिस अझै पनि नेपालमा स्थापना हुन सकेन । हामीले बसालेको लोकतान्त्रिक थिति पनि गठबन्धनले भत्काउँदै छ, उकाउँदै छ । सबै थितिहरु फ्याँक्दै छ,’ उनले भने ।
अध्यक्ष ओलीले वर्तमान सरकारले आफ्नो पार्टी सरकारमा रहेका बेला बसालेको लोकतान्त्रिक थिति पनि भत्काउँदै गएको आरोप समेत लगाए । उनले नेपाल जस्तो देशको विकासका लागि सहकारी अपरिहार्य रहेको उल्लेख गर्दै त्यसलाई बद्नाम हुन नदिन पनि सम्बन्धित सबै पक्षलाई सचेत गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर