कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्छ : उपसभापति गुरुङ

कांग्रेसका उपसभापति तथा कानुनमन्त्री धनराज गुरुङले कांग्रेसबाट निर्वाचित वडाध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाध्यक्षदेखि आफूजस्ता मन्त्रीहरूसम्मका सम्पत्ति छानविन गर्नुपर्ने प्रस्ताव महासमितिले पारित गर्नुपर्ने बताएका हुन् । उनले महासमिति बैठकले यस्तो प्रस्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गरे ।

उनले क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता व्यापारीहरु नेताजस्ता देखिएका बताए । महासमिति बैठक क्रोनी क्यापिटालिजमविरुद्ध एक ठाउँमा उभिनुपर्ने उनको भनाइ थियो ।

‘क्रोनी क्यापिटालिजमकै कारणले आर्थिक सुशासन जसरी कायम गर्न खोजिरहेका थियौं, त्यसरी आर्थिक सुशासन कायम गर्न सकेका छैनौं । आर्थिक सुशासन कायम गर्न नसक्नु भनेको भ्रष्टाचार नै हो । भ्रष्टाचारका कारण हामी अल्मल्लिएका छौँ । त्यसैले म निवेदन गर्न चाहन्छु, जबसम्म भ्रष्टाचार रहन्छ, तबसम्म विपन्नलाई सम्पन्न बनाउन सकिँदैन’ उनले भने ।

उपसभापति गुरुङले पार्टीको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर