जन्ती जीप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकमा सोमबार भएको जीप दुर्घटनामा मृतकको संख्या तीन पुगेको छ । जन्ती बोकेर छापस्वाँरा जाँदै गरेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६ का ५६ वर्षीय शेरबहादुर गुरुङको सोमबार राति उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए ।

दुर्घटनामा परी सोही ठाउँ बस्ने ७२ वर्षीय आसपुर गुरुङ र व्यास नगरपालिका–९ गजौडे बस्ने १७ वर्षीया तुलसी गुरुङको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका अन्यको चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

छापस्वाँरामा आइतबारदेखि विवाहको रमाइलो माहोल थियो । केटापक्ष केटी लिन भानुको मिर्लुङ पुग्यो । आइतबार राति नै दुलही लिएर जन्ती फर्किँदै थियो । दुलाहादुलही चढेको गाडी घर पुगिसकेको थियो । तर अन्तिममा आउँदै गरेको बोलेरो जीप अचानक दुर्घटनामा प¥यो ।

आँबुखैरेनी गाउँपालिका–१ गिरानचौरस्थित भित्री सडकखण्डमा छापस्वाँरा जाँदै गरेको जन्ती बोकेको जीप दुर्घटना भयो । दुर्घटनापश्चात् विवाहको रमाइलो माहोल शोकमा बदलिएको छ ।

आँबुखैरेनी–६ का वडाध्यक्ष दिलिप गुरुङले दुर्घटनापश्चात् गाउँ नै शोकमा डुबेको बताए । उनले भने, ‘खुसीको क्षणलाई दुर्घटनाको दुःखद क्षणले नरमाइलो बनाएको छ । गाउँ शोकमा डुबेको छ ।’

गुरुङका अनुसार विवाहका लागि तीन वटा गाडी लगिएको थियो । त्यसमध्ये अन्तिमको गाडी दुर्घटनामा परेको हो । उनले भने, ‘दुई वटा गाडी घर पुगिसकेको थियो । आफन्तहरु चढेको बोलेरो जीप दुर्घटना भयो । घाइतेहरु पनि आफन्त नै हुन् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर