भ्रष्टाचार अन्त्य कांग्रेसको प्रमुख नीति : उपसभापति खड्का

कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले भ्रष्टाचारको अन्त्य गरी सुशासन कायम गर्नु नेपाली कांग्रेसको प्रमुख नीति हुने बताएका छन ।

मंगलबार पार्टीको महासमिति बैठकमा पार्टीको नीतिगत प्रतिबद्धता प्रस्तुत गर्दै उपसभापति खड्काले सुशासन तथा सदाचार नीति तर्जुमा, बलियो भ्रष्टाचार ऐनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनलाई कांग्रेसले मूल नीतिको रुपमा स्वीकार गर्ने बताए । उनले समाजमा असमानता बढाउने प्रमुख कारक कुशासन र भ्रष्टाचार भएको भन्दै समुन्नति, सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण एक अर्काका पूरक भएको बताए ।

उनले कांग्रेसले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताका साथ अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट र संकल्प गर्ने स्पष्ट पारे । उनले वर्तमान सरकारले सुशासनको सम्बन्धमा केही सकारात्मक कदम चालेको भन्दै सो कदम सुखद र आशालाग्दो संकेत भएको उल्लेख गरे ।

उपसभापति खड्काले सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कठोर भएर थप काम गर्नुपर्ने आवश्यकता रहेको र यसका लागि कांग्रेस प्रतिवद्ध रहेको बताए ।

उनले संविधानको आधारभूत रचनामा प्रतिकुल असर नपर्ने गरी आवश्यकताअनुसार संविधान संशोधन गर्न नेपाली कांग्रेस खुला रहेको स्पष्ट पारे । उनले संविधान संशोधनको आवश्यक नेतृत्व पनि कांग्रेस आफैँले लिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर