सामाजिक सञ्जालबाट लोकतन्त्र खतरामा परेको छैनः उपाध्यक्ष पौडेल

एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौती दिनसक्ने रुपमा नआएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा उनले सामाजिक सञ्जालका कारण लोकतन्त्र खतरामा प¥यो भन्ने भनाइसँग आफू सहमत नरहेको बताएका हुन् । उनले सामाजिक सञ्जालबाट गलत सूचना सम्प्रेषण गरेर समाजलाई गलत कुरा बुझाउने प्रयास भइरहेको सत्य भए पनि लोकतन्त्र नै खतरामा भने नपारेको बताए ।

उनले सामाजिक सञ्जालका गलत सूचनाहरु रोक्ने बारेमा छलफल गरी समाजलाई जोगाउने कोशिस हुनुपर्ने धारणा राखे । ‘मलाई के लाग्छ भने यो सोसल मिडियाले लोकतन्त्रमा खतरा ल्यायो भन्नेकुरासँग म त्यति धेरै सहमत छैन । यसले मिस कम्युनिकेसनको कुरा गरेको छ, गलत सूचना सम्प्रेषण भइरहेको छ, समाजलाई गलत गर्ने कोसिस पनि गरिएको छ । तर लोकतन्त्रलाई चुनौती दिनसक्ने तहमा यो आइसक्यो भन्ने मलाई लाग्दैन । लोकतन्त्रलाई चुनौती दिनसक्छ जस्तो लाग्दैन । यद्यपि यसका प्रभावको बारेमा छलफल गर्नुपर्छ । त्यसबाट हामीले हाम्रो सोसाइटीलाई जोगाउने कोसिस गर्नुपर्छ,’ उनले भने ।

उपाध्यक्ष पौडेलले सामाजिक सञ्जाल, इआई, आईटीको दुरुपयोग हुनसक्ने भए सदुपयोग हुनसक्छ कि सक्दैन ? भन्ने प्रश्न गरे । उनले राजनीतिक दलहरु वाक् स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रताका पक्षमा उभिनुपर्ने बताए ।

उनले कसैले पनि प्रेस स्वतन्त्रतालाई संकुचन गर्नु नहुने बताए । उनले लोकतन्त्रको प्राण नै आलोचना भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *