प्रज्ञा प्रतिष्ठानमा भजनशिरोमणि आचार्यको अन्तिम बिदाइ

वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उनको पार्थिव शरीर नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ ।

प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि जारी छ । प्रतिष्ठानमा उनँलाई श्रद्धाञ्जलि दिन शुभेच्छुक तथा गीत संगीत क्षेत्रका व्यक्तिको उपस्थिति छ ।

प्रतिष्ठाकी सदस्यसचिव कुस्मा महराले बिहान ११ बजेदेखि शुभचिन्तक, गीत–सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारबाट श्रद्धाञ्जलि अर्पण चलिरहेको बताइन् । उनका आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । भजन शिरोमणि उपाधि पाउनुभएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो ।

‘गीतसंगीतमा आचार्यको योगदान महत्वपूर्ण’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आचार्यले दिएको योगदानले गीत–संगीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन् ।

प्रज्ञा–प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री दाहालले उहाँको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए ।
१९९९ सालमा धनकुटामा जन्मिनुभएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा संगीत दिएका छन् ।

नेपाली सुगम संगीतमा उनको महत्वपूर्ण योगदान छ । प्रतिष्ठानकी कुलपति निशा शर्माले गीत–सङगीत क्षेत्रको एउटा धरोहर ढलेको र उहाँको अभाव सधैँ खड्किरहने बताइन् ।

आचार्यले ‘मुटु जलिरहेछ…’, ‘जति चोट दिन्छौँ…’, ‘जहाँ छन् बुद्धका आँखा…’, ‘हजार सपनाहरूको…’, ‘माया मेरी साँझ बिहान…’, ‘हजार आँखा हेर्ने…’ लगायत करिब चार सय गीतमा आवाज तथा संगीत दिएका छन् । गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत–संगीत क्षेत्रमै सक्रिय छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *