लोकसभा चुनाव २०२४ : कहाँबाट चुनाव लड्दै छन् भाजपाका शीर्ष नेता ?

भारतीय जनता पार्टीले शनिबार लोकसभा चुनावका लागि १ सय ९५ सिटका लागि उम्मेदवार घोषणा गरेको छ ।प्रधानमन्त्री नरेन्द्र मोदी लगातार तेस्रो पटक बनारसबाट चुनाव लड्दै छन् भने गृहमन्त्री अमित शाह गुजरातको गान्धीनगरबाट चुनाव लड्नेछन् । लखनउबाट रक्षामन्त्री राजनाथ सिंहलाई टिकट दिइएको छ ।

चुनाव आयोगले लोकसभा चुनावको कार्यतालिका घोषणा नगरे पनि भाजपाले शनिबार उम्मेदवारको पहिलो सूची सार्वजनिक गरेको हो । २०१९ मा, बीजेपीले लोकसभा चुनावमा कुल ३ सय ३ सीट जितेको थियो ।

भाजपाले उत्तर प्रदेशका ५१, पश्चिम बंगालका २०, मध्य प्रदेशमा २४ र गुजरात र राजस्थानका १५–१५ सिटका लागि उम्मेदवार घोषणा गरेको छ । यसबाहेक केरलाका १२ सिटका लागि, तेलंगाना, असम, छत्तीसगढ र झारखण्डका ११–११ सिटका लागि उम्मेदवार घोषणा गरिएको छ ।

बीजेपीले दिल्लीमा पाँच, उत्तराखण्डमा तीन र जम्मू कश्मीरका दुई सिटका लागि उम्मेदवार घोषणा गरेको छ । गोवा, त्रिपुरा, अण्डमान र निकोबार तथा दमन र दीवमा एक–एक सिटका लागि उम्मेदवारहरूको नाम टुंगो लागेको छ ।

भाजपाको पहिलो सूचीमा प्रधानमन्त्री मोदी, गृहमन्त्री शाह र रक्षामन्त्री सिंह तथा राज्यमन्त्रीसहित कुल ३४ केन्द्रीय मन्त्रीको नाम छ । यसबाहेक लोकसभा अध्यक्ष ओम बिरला र पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान, विप्लव देव र सर्वानन्द सोनेवाललाई पनि टिकट दिइएको छ ।

भाजपाले कुल २८ महिला र ५० वर्षमुनिका ४७ नेतालाई टिकट दिएको छ । पहिलो सूचीमा २७ अनुसूचित जाति र १८ अनुसूचित जनजाति उम्मेदवार छन् । अहिलेसम्म जारी गरिएका १सय ९५ टिकटमध्ये भाजपाले ५७ ओबीसीलाई दिएको छ ।

जसले पाएनन् टिकट

भाजपाले भोपालकी सांसद प्रज्ञा सिंह ठाकुर र दिल्लीका चार वर्तमान सांसदलाई टिकट दिएको छैन । भोपालबाट साध्वी प्रज्ञा ठाकुरको स्थानमा आलोक शर्मालाई टिकट दिइएको छ । प्रज्ञाले २०१९ मा कांग्रेसका दिग्विजय सिंहलाई हराएकी थिइन् ।

भाजपाले दिल्लीका वरिष्ठ नेता हर्षवर्धन, केन्द्रीय मन्त्री मीनाक्षी लेखी, रमेश बिधुरी र परवेश वर्मालाई पहिलो सूचीमा टिकट दिएको छैन । केपी सिंह यादवलाई मध्य प्रदेशको गुनाबाट टिकट दिइएको छैन । विदिशा, ग्वालियर र मुरैनामा पनि अनुहार बदलिएको छ ।

राजस्थानमा १५ उम्मेदवारको नाम घोषणा गरिएको छ । तीमध्ये पाँच सिटमा वर्तमान सांसदले टिकट पाएका छैनन् । मनिष जैसवाललाई झारखण्डको हजारीबागबाट टिकट दिइएको छ । अहिले यहाँका सांसद जयन्त सिन्हा छन् । शनिबार नै उनले पार्टी अध्यक्ष जेपी नड्डालाई सक्रिय राजनीतिबाट अलग हुनका लागि अनुमति दिन आग्रह गरेका थिए ।

विदिशामा पूर्वमुख्यमन्त्री सिंह मैदानमा

केन्द्रीय उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया मध्य प्रदेशको गुनाबाट चुनाव लड्नेछन् । वातावरणमन्त्री भूपेन्द्र यादव राजस्थानको अलवरबाट चुनावी मैदानमा छन् । मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान विदिशाबाट र स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले गुजरातको पोरबन्दरबाट चुनाव लड्नेछन् ।

सन् २०१९ मा अमेठीबाट राहुल गान्धीलाई हराएकी केन्द्रीय मन्त्री स्मृति इरानी फेरि अमेठीबाट उम्मेदवार बन्ने भएकी छन् । अरुणाचल पश्चिम सीटबाट केन्द्रीय मन्त्री किरेन रिजिजुलाई उम्मेदवार बनाएको छ ।

भोजपुरी फिल्मका अभिनेता दिनेश लाल निरहुआलाई आजमगढबाट टिकट दिइएको छ । भाजपाले उत्तर प्रदेशको मथुराबाट अभिनेत्री हेमा मालिनीलाई फेरि टिकट दिएको छ । गौतमबुद्धनगरबाट पूर्वमन्त्री महेश शर्मालाई उम्मेदवार बनाइएको छ । यसबाहेक साक्षी महाराज र एसपी सिंह बघेललाई पनि टिकट दिइएको छ ।

भाजपाले अजय मिश्रा टेनीलाई लखिमपुर खीरीबाट उम्मेदवार बनाएको छ । लखिमपुर खीरीमा आन्दोलनरत किसानमाथि भएको आक्रमणमा चार जनाको मृत्यु भएपछि टेनी विवादमा परेका थिए । भाजपाले फेरि उनीमाथि विश्वास व्यक्त गरेको छ । टेनीलाई टिकट दिँदा किसान नेताहरुले विरोध गरेका छन् ।

दिल्लीमा नयाँ अनुहार

दिवंगत नेतृ सुष्मा स्वराजकी छोरी बाँसुरी स्वराजलाई नयाँ दिल्लीबाट टिकट दिइएको छ । उत्तर पूर्वी दिल्लीबाट सांसद मनोज तिवारीलाई फेरि उम्मेदवार बनाइएको छ । पूर्व क्रिकेटर तथा सांसद गौतम गम्भीरको नाम पनि पहिलो सूचीमा छैन । गौतम गम्भीरले शनिबार नै ट्वीट गर्दै सक्रिय राजनीतिबाट अलग हुने संकेत गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर