कांग्रेस पदाधिकारी बैठकमा देउवाको ब्रिफिङ: प्रचण्डले धोका दिए

कांग्रेस र माओवादी केन्द्रबीचको गठबन्धनमा समस्या देखिएपछि सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक बोलाएका थिए । उक्त बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेता जाने तयारीमा थियो ।

अचानक बैठक स्थगित भएको खबर आयो । देउवा आफ्ना विश्वासपात्र नेता पूर्णबहादुर खड्कालाई लिएर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगे । प्रधानमन्त्रीको भेटमा भने उनले अब गठबन्धन नटिक्ने जवाफ पाए ।

सोमबार एमाले र माओवादी लगायत दलको नयाँ सत्ता गठबन्धनको घोषणा भएपछि कांग्रेसले बोलाएको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सभापति देउवाले गरेको ब्रिफिङ हो यो । कांग्रेसका एक पदाधिकारीका अनुसार बैठकमा देउवाले ‘प्रचण्डले धोका दिएको’ बताएका थिए ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तासम्बन्धमा छलफलका लागि पटकपटक भेट्न खोजे पनि आफूले समय नदिएको तर प्रचण्डले भने एमालेसँग निरन्तर वार्ता गरिराखेको खुलेको देउवाले बैठकमा बताए ।

पदाधिकारी बैठकपछि कांग्रेसले सत्तागठबन्धन फेरबदल अनपेक्षित भएको निष्कर्ष निकालेको छ । यस्तै, कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि फागुन २२ मा दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

पार्टी सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थितिका लागि अनुरोध गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *