नयाँ सत्ता समीकरणमा मधेशवादी दल

जसपा सरकारमा जाँदै गर्दा जनमत र लोसपा अन्योलमा

तराई मधेशका जिल्लाहरुमा सक्रिय मधेशवादी दलहरु नयाँ सत्ता समीकरणबारे अनिर्णीत देखिएका छन् ।

सोमबार घोषणा गरिएको एमाले र माओवादीको गठबन्धनमा सहभागी हुने नहुनेबारे निर्णय गर्न केही मधेशवादी दलले सकेका छैनन् ।

मधेश प्रदेशको सरकारको नेतृत्व पनि गरिरहेको जसपाका अध्यक्ष उपेन्द्र यादव भने आफैं गठबन्धन बैठकमा सक्रिय छन् । सोही कारण जसपा सरकारमा सहभागी हुने निश्चित छ । मन्त्रालय भागबण्डा र सिट संख्याका विषय टुंगो लगाउन गठित कार्यदलमा यादव पनि सहभागी छन् ।

आफूलाई उपप्रधानसहित मन्त्रालयका लागि यादवले गठबन्धनमा दाबी पेस गरेका छन् । उनी मन्त्री बन्ने निश्चित जस्तै भइसके पनि जसपाले कति मन्त्रालय पाउने टुुंगो भएको छैन । यस्तै, जसपाले आफ्नो केन्द्रीय कार्यकारिणी समितिको बैठक पनि बोलाएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज दिउँसो ४ बजे सुरु भएको जसपाका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार बैठकमा सरकारमा सहभागिताको विषय, समसामयिक राजनीतिक घटनाक्रमलगायतमा छलफल हुनेछ । जसपाको बैठक आज बिहान ८ बजे पनि बसेको थियो ।

अन्य मधेशवादी दल लोसपा र जनमत भने पर्ख र हेरको रणनीतिमा छन् । लोसपाको केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय पदाधिकारीको बैठकले अहिले कुनै निर्णय नलिएको पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले बताए । यसबारे निर्णय लिन बैठकले अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा दिएको छ ।

यस्तै, जनमत पार्टीले नयाँ गठबन्धनमा जान मधेशको मुख्यमन्त्री आफूले पाउनुपर्ने शर्त राखेको छ । तर, मधेशमा जसपाको पनि दाबी भएकाले जनमतको शर्त हुने सम्भावना भने न्यून छ । जनमतका सचिव बीपी साहले पनि नयाँ गठबन्धनबारे अझै पार्टीमा छलफल हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर