एमाले माओवादीले मधेश प्रदेशमा जसपाको नेतृत्व नमान्ने, अप्ठयारोमा उपेन्द्र यादव

केन्द्रमा सत्ता गठबन्धनमा आएको फेरबदलको असर सातवटै प्रदेशमा देखिएको छ । यतिबेला प्रदेशहरुमा संघमा बनेको गठबन्धन अनुसार प्रदेश सत्ता समिकरणको गृह कार्य भइरहेको छ । जसको प्रत्यक्ष प्रभाव मधेश प्रदेशको राजनीतिमा देखिएको छ । यहाँको राजनीति पेचिलो बनेको छ ।

संघमा सरकारका सहयात्री नेकपा एमाले र नेकपा माओवादी केन्द्रले अर्को गठबन्धनको मुख्य घटक जनता समाजवादी पार्टी (जसपा) को नेतृत्व मधेश प्रदेशमा स्वीकार नगर्ने संकेतसँगै यहाँको राजनीति पे्चिलो बनेको हो । यतिबेला जसपाबाट मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशको नेतृत्व गरिरहेका छन् । जसपाले मधेश प्रदेशको नेतृत्वको दाबीसहित नयाँ गठबन्धनमा सहमति जनाएको थियो । तर, गठबन्धन बनेको तीन दिन नपुग्दै मधेश प्रदेशका कारण जसपा अध्यक्ष उपेन्द्र यादवको मन अमिलो भएको छ । स्रोतका अनुसार गठबन्धनको पछिल्लो बैठकमा एमाले र माओवादी केन्द्रले मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुनैपर्ने सर्त अघि सारेसँगै उपेन्द्र यादव संकटमा परेका छन् ।

एमाले र माओवादीका प्रदेशका शीर्ष नेताहरू र प्रदेश सभा सांसदहरूको बैठकले प्रदेशमा सत्ता नेतृत्वको दाबी गर्ने भएको हो । यसका लागि एमालेले पहिलो चरणमा माओवादी केन्द्रलाई नेतृत्व दिने र आधा कार्यकाल पछि एमाले आफैले लिने भित्रभित्रै सहमति भएके स्रोतले बतायो । मधेश प्रदेशका माओवादी संसदीय दलका नेता भरत साहले अबको नेतृत्वमा माओवादीको दाबी रहने प्रष्ट पारेका छन्। उनले जसपाले झण्डै साढे एक वर्ष सत्ताको नेतृत्व गरि सकेको हुनाले अब जसपालाई कुनै हालतमा प्रदेशको नेतृत्व दिन नसक्ने बताएका छन्। एमाले प्रदेशका संसदीय दलका नेता सरोज यादवले माओवादीको दाबीलाई समर्थन गर्दै जसपालाई नेतृत्व नदिने अडान लिएको बताए।

जसपाको सरकार भ्रष्टाचार र आर्थिक अनियमिततामा चुर्लुम्म डुबेको र विकासको कुनै काम पनि गर्न नसकेको भन्दै अब जसपालाई नेतृत्व दिए त्यो स्वीकार्य नहुने एमाले संसदीय दलका नेता सरोज यादवले सार्वजनिक अभिब्यक्ति दिएका छन् । माओवादी केन्द्र र एमालेले मधेश प्रदेशमा बहुमतका लागि अन्य दलहरूसँग पनि संवाद र छलफल गरिरहेको छ । माओवादीका भरत साहले प्रदेशमा सरकारको बहुमतको लागि जनमत, नेकपा एस र लोसपासँग समेत आफुहरु निरन्तर संवादमा रहेको बताए । ‘सबैले जसपाको नेतृत्व स्वीकार नहुने भनेपछि हामी विकल्प खोज्न बाध्य भएका छौं’,भरत साहले भने ‘केन्द्रीय नेतृत्वलाई हामीले आफ्नो अडानबारे जानकारी गराइ सकेका छौं।’

जसपाको नेतृत्वलाई नै निरन्तरता दिइयो भने माओवादी र एमाले सरकारमा सहभागी नहुने सम्मको अप्रिय निर्णय गर्न सक्ने उनले बताए। संघीय सरकारमा सत्ता गठबन्धन फेरिएसँगै मधेश प्रदेश सरकार अल्पमतमा परेको छ। जनमत पार्टीले पहिल्यै नै सरकारलाई दिएको आफ्नो समर्थन फिर्ता लिइ सकेको छ। नयाँ समीकरणमा लोसपा सहभागी नहुने पक्का छ। जसपालाई आफ्नो पक्षमा समर्थन जुटाउन यतिबेला धौ धौ परेको छ।

मुख्यमन्त्री सरोजकुमार यादवको पक्षमा कोही पनि जान तयार नभए पछि मुख्यमन्त्री फेरेर भएपनि आफ्नै नेतृत्वको सरकार बनाउन उपेन्द्र यादवको जोडबल छ । जसपाका अध्यक्ष यादवले मधेश प्रदेशमा आफ्नै नेतृत्वमा सरकारलाई निरन्तरताको लागि नै नयाँ गठबन्धनमा जाने भन्दै पार्टीबाट निर्णय गराएका थिए। उनले मुख्यमन्त्री सरोजकुमार यादवलाई परिवर्तन गरेर भएपनि नेतृत्वको दाबी कुनै हालतमा नछोड्ने उनी निकट स्रोतले बतायो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *