संसदमा प्रधानमन्त्रीको सम्बोधन: आफ्नो कदमको बचाउ, कांग्रेसप्रति असन्तुष्टि

नयाँ सत्ता गठबन्धन बनाएपछि आज प्रतिनिधिसभामा सम्बोधन गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन बनाउने आफ्नो निर्णयको बचाउन गरेका छन् भने सहकार्य गरेको कांग्रेसप्रति भने असन्तुष्टि व्यक्त गरेका छन् ।

दाहालले कांग्रेससँगको सहकार्य सौहार्दपूर्ण रहेको तर त्यो सहकार्यको क्रममा सरकारले परिणाम दिन नसकेको बताए । ‘औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएर आफ्नो लक्ष्य अनुसार राष्ट्र निर्माणमा लाग्ने भन्नेमा मैले दोस्रो विकल्प रोजें,’ दाहालले भने ।

यस्तै, राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको उनको भनाइ थियो । ‘राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनसँगै माननीयज्यूहरूका केही प्रश्नले जवाफ पाइसकेका छन् । उदाहरणका लागि बालकुमारी घटनामा दोषी देखिएका भनिएका तत्कालीन मन्त्रीको विषय सरकारको पुनःगठनसँगै असान्दर्भिक भएको छ,’ उनले भने ।

प्रधानमन्त्री दाहालले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकबाट दिइएको निर्देशनविपरीत काम गर्ने लघुवित्त वित्तीय संस्थालाई छानबिन गरी कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरे । उनले तोकेभन्दा बढी शुल्क लिएकालाई बढी शुल्क सम्बन्धित खातावालालाई फिर्ता दिने काम भइरहेको जानकारी गराए ।

दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्बन्धित उद्योगी–व्यवसायी र किसान संगठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पुस मसान्तसम्मको वक्यौता आगामी चैत २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको बताए ।

उनले कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको जानकारी गराए ।

रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन सर्टिसफिकेट’ अनिवार्य गरिएको उनले बताए । रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कूटनीतिक प्रयास अघि बढाइएको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर