राजनीतिक अस्थिरताका बीच चिनियाँ सेनाका मेजर जनरल काठमाडौंमा

नेपालमा राजनीतिक उथलपुथल भएको र रस्साकस्सी चलिरहेका समयममा चीनको जनमुक्ति सेनाका एकजना वरिष्ठ अधिकारी दलबलसहित शनिवार काठमाडौं ओर्लिएका छन् ।

अन्तर्राष्ट्रिय सैन्य सहयोग कार्यालय (सीएमसी) उपप्रमुख मेजर जनरल चाङ पाओछुनको नेतृत्वमा नेपाल भ्रमणमा आएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाका उपरथी विजय थापाले स्वागत गरेका थिए ।

चाङ नेतृत्वको टोलीमा अन्य वरिष्ठ कर्नेलहरु पेइलिङ सङ लिसिङ, लि यिङफङ, वरिष्ठ क्याप्टेन वाङ कुओचङ र सि सिआङयाङ सहभागी छन् ।

याे भ्रमणका विषयमा नेपाली सेनाले जानकारी सार्वजनिक गरेकाे छैन् ।

भ्रमणका क्रममा चिनियाँ टोलीले नेपाली सेनाका प्रधानसेनापतिलगायत सुरक्षा अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । टोलीले नेपाली सुरक्षा निकायहरुको क्षमता अभिवृद्धिलगायत विषयमा अधिकारीहरुसँग छलफल गरिने पनि जनाइएको छ ।

हाल नेपालमा शान्ति स्थापना कार्यमा सहभागी हुने फौजको पेसागत दक्षता तथा आपसी समन्वयात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालमा बहुराष्ट्रिय अभ्यास ‘शान्ति प्रयास’ को चौथो संस्करण आयोजना भएको थियो । यो अभ्यासमा चीन समेत सहभागी थियो ।

अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसियटिभ (जीपीओआई) सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा यही फागुन ८ देखि अभ्यास तालिम सुरु भएको थियो, जसमा नेपालसहित १९ राष्ट्रका सैनिकहरु सम्मिलित छन् । उक्त अभ्यास फागुन २१ सम्म सञ्चालन हुनेछ ।

तालिममा अमेरिका, अस्ट्रेलिया, पाकिस्तान, बङ्गलादेश, फिजी, घाना, मलेसिया, इण्डोनेसिया, मङ्गोलिया, थाइल्याण्ड, उरुग्वे, दक्षिण कोरिया, श्रीलङ्का, भियतनाम, क्यानडा, फिलिपिन्स, नाइजेरिया लगायत देशहरुका सैनिक सहभागी थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *