प्रहरी हेडक्वार्टरमा गृहमन्त्री, यस्ता छन् ११ निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् ।

सो क्रममा मन्त्री लामिछानेले राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति–विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहेको बताएका छन् ।

त्यसको सुरुआत पहिलोपटक गृहमन्त्री हुँदा डीआईजी र एसएसपीहरुको सरुवाका क्रममा गरेको उल्लेख गर्दै उनले त्यसबेला सरुवा भएर मधेस प्रदेशमा गएका वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्ने बताएका थिए ।

यस्तै, कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्ने, त्यसको योजना बनाएर ल्याउन उनले निर्देशन दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त कुँवरले गृहमन्त्री लामिछानेलाई प्रहरीको सांगठनिक संरचना, जनशक्ति परिचलान, समस्या र चुनौतीबारे जानकारी गराएका थिए । त्यसअघि मन्त्री लामिछानेले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्दै वीरगति प्राप्त प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यस्ता छन् गृहमन्त्रीका निर्देशनः

–राजनीतिक हस्तक्षेपका कारण संगठन र त्यसको नेतृत्वले वृत्ति–विकासको सुनिश्चितता गर्न नसक्दा सरुवा–बढुवाका लागि समेत शक्तिकेन्द्र धाउनुपर्ने विद्यमान अवस्थाको अन्त्य गर्न चाहान्छु । र, त्यसको सुरुआत पहिलोपटक गृहमन्त्री हुँदा डीआइजी र एसएसपीहरुको सरुवाका क्रममा गरेको थिएँ । त्यसबेला सरुवा भएर मधेस प्रदेशमा जानुहुने वर्तमान महानिरीक्षकले नै त्यसबारे धेरै बताउन सक्नुहुन्छ ।

–कुनै कर्मचारी सरुवा–बढुवाका लागि कतै धाउनु नपर्ने अवस्था बनाउन नीति र विधि आवश्यक पर्छ। त्यसको योजना बनाएर ल्याउनुस्, कसरी–के गर्नुपर्छ, गर्नेछु ।

–म कुनै व्यक्ति विशेषको सरुवा–बढुवा गर्ने र त्यस वापत लाभ लिएर पेट पाल्ने उद्देश्य पूरा गर्न गृह मन्त्रालय आएको होइन । केही फरक गर्ने चाहना, नीति–विधि स्थापित गर्ने हुटहुटी र प्रणालीको विकास एवं बेथितिको अन्त्यको दृढसंकल्प बोकेर आएको हुँ । त्यसमा तपाईंहरुको सहयोग मिल्नेछ भन्ने ठानेको छु ।

–आफ्नो शक्ति राजनीतिक नेतृत्वलाई नसुम्पिनुहोस् । अनावश्यक भारी नबोक्नुहोस् । निर्धक्क भएर आफ्नो अधिकारको सदुपयोग गर्नुहोस् । नीति र विधिभित्र रहेर काम गर्नुहोस् । कुन व्यक्ति, कुन स्थानका लागि योग्य छ सोही स्थानमा राख्नुहोस् । मबाट तपाईंहरुको काममा हस्तक्षेप हुने छैन । तर, मैले केही नगर्ने, अन्यले चाहिँ संगठन चलाउने अवस्था आयो भने बाध्य भएर हस्तक्षेप गर्नुपर्ने हुन्छ ।

–तीस वर्षे सेवा अवधिको विषयमा म क्लियर छु, यो हटाउनुपर्छ । तर, के, कसरी र कुन बेला भन्ने कुरा छलफलबाट टुंग्याउनुपर्छ । यसमा पनि कोही न कोहीले त्याग गर्नुपर्छ । कसैलाई तत्काल लाभ वा हानी पनि पर्न सक्छ । व्यक्तिलाई होइन अधिकांशको हित हुने गरी दीर्घकालसम्मका लागि नीति बनाउनुपर्छ ।

–प्रहरी समायोजन टुंगोमा पु¥याउनुपर्छ । त्यसका लागि सरोकारवालासँग छलफल र गृहकार्य गर्नुपर्छ ।

– हरेक नागरिकले सुरक्षित महसुस हुने गरी प्रहरीले सेवा दिनुपर्छ । सानालाई ऐन र ठूलालाई चैनको अवस्था कुनै हालतमा पनि सह्य हुँदैन । न्याय सबैले पाउनुपर्छ । अनुसन्धान निष्पक्ष र वस्तुनिष्ठ हुनुपर्छ । आरोपित, अभियुक्त र अपराधी को र कुन पार्टीको हो भनेर अनुहार हेर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।
–कुनै पनि घटना वा अपराधको छानबिन वा अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने भन्ने निर्धारण आदेशले होइन प्रमाणले गर्नुपर्छ । कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा, पहुँच होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान र कारबाही गर्नुहोस् । त्यसबाट उब्जिने हरेक चुनौतीको सामना म आफैं डटेर गर्नेछु ।

–प्रहरी कर्मचारी गैर–व्यावसायिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित भए हदैसम्मको कारबाही गरिने छ । र, त्यसबेला कुनै शक्तिले भनसुन गरेर जोगाइदिन्छ भन्ने अपेक्षा विल्कुल नराख्नु होला । कानूनअन्तर्गत रहेर तपाईंहरुले गर्ने हरके कामको जिम्मेवारी लिन्छु । परेको चुनौती पनि व्यहोर्छु ।

–तस्कर, गुण्डा र अपराधीसँग प्रहरी उभिएको र हात मिलाएको दृश्य देख्नु नपरोस् । कुनै नेताको चाकडी गरेको देख्न/सुन्न नपरोस् ।

–प्रहरी संगठनका विद्यमान समस्या समाधानमा इमान्दार प्रयास गर्ने छु । प्रविधिको प्रयोगलाई पनि बढाउनु पर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *