टेरामक्स घोटाला : दुई पूर्वमन्त्री र मुख्यसचिवमाथि मुद्दा चलाउने अन्तिम तयारी

लामो समयदेखि अल्झेको र नेपाली कांग्रेसमा दुई प्रभावशाली नेता तथा बहालवाला मन्त्री मुख्यसचिव लगायतमा ‘हाइप्रोफाइल’ मुछिएको टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाउने अन्तिम तयारी गरेको छ ।

अख्तियारले ‘ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रक्रियामा भएको अनियमितताबारे अनुसन्धान सकेर छिट्टै विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको हो ।

त्यसको जानकारी प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा उपस्थित आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले छिट्टै मुद्दा दायर गर्ने जानकारी दिइसकेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद गर्दा अर्बौँ रुपैयाँ अनियमितता भएको उजुरीमा आयोगले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएकै बेला लेखा समितिले पनि त्यसमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो ।

प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स प्रविधि खरिद गरेको जनाएको थियो । डेढ अर्ब रुपैयाँ अनियमितता गरेको उजुरी अख्तियारमा परेपछि छानबिन अघि बढाएको र मुद्दा दायरको चरणमा पुगेको हो ।

छानबिन अन्तिम अवस्थामा पुगेकै बेला संसद्को लेखा समितिले पनि खरिदमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारलाई नै सूक्ष्म ढङ्गले अनुसन्धान गर्न भनेको थियो ।

खरिद प्रक्रियामा निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, तत्कालीन सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमेतको संलग्नता रहेको जनाइएको छ ।

त्यस्तै हालका मुख्य सचिव वैकुण्ठप्रसाद अर्याल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, तत्कालीन सञ्चार सचिव एवं हालका सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङ, प्राधिकरणको अध्यक्षको जिम्मेवारीमा रहेका दिगम्बर झालगायत पनि अनुसन्धानमा तानिएका छन् ।

सञ्चार मन्त्रालयमा उनीहरू रहेकै समयमा टेरामक्स खरिद भएको थियो । त्यस क्रममा एउटा ल्यापटपको मूल्य नै ६५ लाख रुपैयाँ राखिएको थियो । त्यस विषयमा भन्सार विभागले समेत चासो दिएको थियो ।

आयोगले यो प्रकरणको अनुसन्धानका लागि आवश्यक बयान लिनेदेखि प्रमाण सङ्कलनलगायतका काम सकिएको छ । ‘यो प्रकरणको अनुसन्धानको काम अन्तिममा पुगेको छ । बयान टुङ्गिएको छ । केही समयमा नै नतिजा आउँछ’, अख्तियार प्रमुख राईले लेखा समितिको बैठकमा भनेका थिए ।

प्रमुख आयुक्त राईले भनेपछि नै अब यो प्रकरणमा केही समयभित्रै विशेष अदालतमा अख्तियारले मुद्दा दर्ता गर्ने देखिएको छ । टेरामक्स खरिदमा जोडिएका सबैलाई अनुसन्धानको दायरामा ल्याएर अख्तियारले अनुसन्धान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *