राष्ट्रियसभा अध्यक्षका प्रतिस्पर्धीमध्ये कसको पक्षमा कति मत ?

मंगलबार हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादीका नारायण दाहाल र कांग्रेसका युवराज शर्माले उम्मेदवार बनेका छन् ।

नयाँ बनेको सत्ता गठबन्धनमा माओवादीका साथै एमाले, एकीकृत समाजवादी र जसपा छन् । राष्ट्रिय सभाको ठूलो दल माओवादीका १८ सदस्य छन् । एमालेका १०, एकीकृत समाजवादीका ८ र जसपाका ३ जना सांसद छन् । कांग्रेसको भने राष्ट्रिय सभामा १६, लोसपाका १ सदस्य छन् ।

बहुमत राष्ट्रिय सभा सदस्यको समर्थन भएका र अध्यक्ष बन्ने लगभग निश्चित भएका दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन् । उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् ।

दाहाललाई २०७८ चैतमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेकी थिइन् । उनको राष्ट्रिय सभामा ४ वर्षे कार्यकाल मात्र बाँकी छ ।

कांग्रेसको तर्फबाट उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना तथा समर्थकमा किरणबाबु श्रेष्ठ र लोसपाका शेखरकुमार सिंह छन् । शर्मा बाँकेबाट प्रतिनिधित्व गर्छन् । उनी २०७८ फागुनमा लुम्बिनीबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए ।

उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उम्मेदवार दाहालले आफू निर्वाचित भए पार्टीको ह्याङओभरमा नहुने बताए । आफू राष्ट्रपतिबाट मनोनीत सदस्य भएकाले सभामा पनि आफू पार्टीगत रुपमा नरहेको उल्लेख गर्दै कानून अनुरुप चल्नुपर्ने कुरामा मानसिक रुपमा तयार भएको बताए । राष्ट्रिय सभालाई संविधानमा उल्लेख गरिए अनुरुपको स्तरमा पु¥याउन आफ्नो भूमिका हुने उनको भनाइ थियो ।

कांग्रेसका उम्मेदवार शर्माले आफू निर्वाचित भए सभाको गरिमा बढाउने काम गर्ने बताए । आफ्नो लामो राजनीतिक यात्रा रहेको र शिक्षामा पनि आफू अरुभन्दा कमजोर नभएको भन्दै संसदीय नियममा रहेर काम गर्ने उनको भनाइ थियो ।

‘लोकतन्त्रमा जित, हार बेग्लै कुरा हो । तर लोकतन्त्रमा कसैको हार पनि हुन्न । कसैको जित पनि हुन्न । सबै हार्छन् । सबै जित्छन् । लोकतन्त्रको सुन्दर पक्ष हो चुनाव । को हार्छन् को जित्छन् महत्वपूर्ण होइन,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर