भगौडा थुनुवालाई रोक्न खोज्दा प्रहरी जवानको मृत्यु

जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा रहेका एक थुनुवा भाग्न खोज्दा रोक्ने क्रममा एक प्रहरी जवानको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका महाकाली नगरपालिका–१ का उमेशसिंह कुँवर सोमबार प्रहरीको मुद्दा फाँटमा सोधपुछको क्रममा भाग्न खोजेका थिए । हतकडी लगाएकै अवस्थामा कुँवर जिल्ला प्रहरी कार्यालयको पछाडिबाट हाम फालेका थिए ।

त्यसक्रममा रोक्न खोजेका प्रहरी जवान सुहान चौधरी हुत्तिएर करिब १ सय मिटर तल भिरमा खसेको र उपचारको क्रममा मृत्यु भएको दार्चुला प्रहरीका सूचना अधिकारी इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले बताए । उनका अनुसार चौधरीको टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल दार्चुलामा पु¥याउँदा मृत्यु भएको थियो ।

कुँवर महाकाली तरेर भारततर्फ भागे पनि प्रहरीले भारतीय पक्षसँग समन्वय पुनः पक्राउ गरेको छ ।

कुँवरले गत माघ ७ मा पनि दुई प्रहरीलाई चक्कु प्रहार गरेका थिए । श्रीमती धनिशा कुँवरलाई बन्दक बनाएर हिंसा गरेको भन्दै उजुरी परेपछि ती प्रहरीसँग कुँवरसँग सोधपुछको लागि पुगेको समयमा उनले चक्कु प्रहार गरेका थिए । त्यस क्रममा प्रहरी हवल्दार जयबहादुर खड्का र जवान डम्बरबहादुर ठगुन्ना घाइते भएका थिए ।

यही फागुन २२ मा पक्राउ परेका कुँवरविरुद्ध प्रहरीले अपहरण तथा बन्दकी, ज्यान मार्ने उद्योग र जबर्जस्ती करणीको मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *