रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै रुसी सेनामा गैरकानुनी रुपमा भर्ती भएका उनीहरुको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुनेमा धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बाग्लुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तान छन् ।

सरकारले यसअघि रुसी सेनामा रहेका १४ जनाको मृत्यु भएको जानकारी दिएको थियो । यससँगै रुस–युक्रेन युद्धमा मर्ने नेपालीको संख्या २२ पुगेको छ ।

परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना हुन अनुमति दिने नेपाल सरकारको नीति नरहेको जानकारी दिँदै सरकारले रुस सरकारलाई रुसी सेनामा रहेका नेपालीहरु फिर्ता गर्न आग्रह गर्दै आएको छ । तर, रुस सरकारले भने नेपालको आग्रह मानेको छैन ।

सरकारले रुसी सेनामा भर्ना भएका नेपाली नागरिकहरुलाई नेपाल फिर्ता गराउन नेपाल सरकारले उच्च प्राथमिकताका साथ कूटनीतिक प्रयास जारी राखेको पनि विज्ञप्तिमा जनाएको छ । ‘यसैगरी, रुसी सेनामा ज्यान गुमाएका नेपालीहरुको परिवारलाई रुसी सरकारबाट क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न तथा त्यहाँ कार्यरत नेपालीलाई फिर्ता पठाउनका लागि रुसी सरकारलाई पुनःअनुरोध गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *