इलाम-२ मा चुनावी सरगर्मी, कुन दलबाट कसको दाबी ?

प्रतिनिधि सभा सदस्य निर्वाचित एमाले नेता सुवासचन्द्र नेम्वाङको मृत्युपछि इलाम-२ मा हुन लागेको चुनावको सरगर्मी बढ्न थालेको छ ।

वैशाख १५ मा चुनावी मिति तोकिएको छ । २०५६ सालयता यही निर्वाचन क्षेत्रबाट ५ पटक चुनाव जितेका नेम्वाङको राजनीतिक विरासत कसले धान्छ भन्ने प्रश्नले यहाँको चुनावी सरगर्मी बढाएको छ । पछिल्लो सत्ता गठबन्धनको असर यहाँको चुनावमा कसरी पर्छ भन्ने चासो पनि छ ।

माओवादी केन्द्रले २०७४ सालमा यस क्षेत्रमा बाम गठबन्धन मार्फत एमालेलाई सघाएको थियो भने २०७९ सालमा कांग्रेससँग गठबन्धन गरेको थियो । माओवादी केन्द्रले २०६४ र ०७० सालमा भने उम्मेदवारी दिएपनि जित्न सकेन ।

माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले चुनावमा अरुलाई सघाउँदा पार्टीको धरातल कहाँ छ ? भनेर मूल्याङ्कन गर्न नसकिने भएकाले गठबन्धन नगर्न नेता कार्यकर्ताबाट सुझाव प्राप्त भइरहेको बताए ।

उनले इलाम जिल्ला कमिटीको बैठकले पनि उप-निर्वाचनमा एक्लै लड्ने निर्णय गरिसकेको भएपनि चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा भने केन्द्रको निर्णय नै अन्तिम हुने बताए ।

यो क्षेत्रमा २०५१ को मध्यावधी चुनाव बाहेक सबै चुनाबमा एमालेले बर्चश्व राखेको थियो । यसपाला पनि उम्मेदवारका आकंक्षीहरू मिलाएर र आन्तरिक कलह सामसुम पारेर अघि नबढेसम्म कांग्रेसलाई चुनाव सजिलो देखिन्न । किनकी कांग्रेसबाट भेषराज आचार्य, डम्बर खड्का, केशव थापा र नगेन्द्र कुमाल उम्मेदवार बन्ने दौडमा देखिन्छन् ।

कांग्रेस इलामका पूर्वसभापति हिमालय कर्मचार्यले उम्मेदवार चयनमा विवेक पुर्‍याएर एकढिक्का भइ चुनाव लड्नुपर्ने धारणा सुनाए । २०७९ सालको निर्वाचनमा नेम्वाङसँग १ सय १४ मतले पराजित पार्टी सभापति समेत रहेका खड्का पुनः उम्मेदवार बन्ने दौडमा छन् । निर्वाचनमा पराजयपछि आफ्नै दलका अग्रज नेताहरुलाई ‘भौतिक आक्रमण गर्ने र अनुशासनको कारवाही गर्ने’ भन्दै सार्वजनिक अभिव्यक्ति दिएका कारण उनलाई पार्टीभित्रैबाट सजिलो भने छैन ।

पटक-पटक महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि भएका भेषराज आचार्य पनि यसपाला उम्मेदवार बन्ने लाईनमा छन् । कांग्रेसबाटै पूर्वराज्यमन्त्री केशव थापा पनि चुनावी अभियानमा देखिन्छन् । यस्तै आदिवासी जनजाती महासंघको पूर्वअध्यक्ष रहेका र समानुपातिकतर्फबाट सांसद भइसकेका नगेन्द्र कुमाल पनि प्रत्यक्ष चुनाव लड्न टिकट लिने ध्याउन्नमा छन् । कांग्रेसका बहुसंख्यक कार्यकर्ता भने जो सुकै उम्मेदवार भएपनि एकताबद्ध चुनावी अभियान सञ्चालन नगरेसम्म इलाम २ जित्न कठीन हुने बताँउछन् ।

एमालेभित्र विरासत जोगाउने चुनौती

सुवास नेम्बाङले कायम राखेको विरासत जोगाउने चुनौतीको दोसाँधमा उभिएको एमालेको उम्मेदवारको टुंगो लगाईसकेको छैन । यद्यपी अहिले नेवाङकै छोरा सुहाङ देखि डाक्टर देवी क्षेत्री दुलाल, बुद्धि खनाल, रवीन्द्र सुवेदी नरेन्द्रनाथ भट्टराई र रिपल राईले उम्मेदवार बन्ने इच्छा राखेका छन् । उनीहरुको नाममा छलफल गरेर चैत ४ गते सचिवालय बैठकले केन्द्रीय समितिमा नाम सिफारिस गर्नेछ । केन्द्रीय कमिटीले चैत १५ गते भित्र टिकटको टुंगो लगाउने बताइएको छ ।

 माओवादीकाे अग्निपरिक्षा

माओवादीले २०७० सालको संविधान सभा निर्वाचनमा साविक मेची अञ्चलका पहाडी जिल्लाबाट प्रत्यक्षतर्फ एकसिट पनि जितेको थिएन । त्यसपछिका दुईवटा निर्वाचनमा एमाले र कांग्रेससँग गठबन्धन गरेको उसलाई इलाम २ मा एक्लै चुनाव लड्नु अग्निपरिक्षा जस्तै भएको छ । किनकी प्रदेश १ को नामकरण कोशी गरेपछि पहिचान पक्षधरबाट समेत माओवादीले बढी आलोचना खेप्दै आईरहेको छ ।

पहिचान पक्षधर, रास्वपा र स्वतन्त्रको परीक्षण

‘कोशी’ नामाकरण पश्चात सडक संघर्षमा रहेका किराँत याक्थुङ चुम्लुङ र किराँत राई यायोक्खा सहित ४१ वटा घटकले डकेन्द्रसिंह थेगिमलाई साझा उम्मेदवार बनाउने उद्घोष गरिसकेका छन् ।

उनीहरु प्रदेशको नामाकरण पश्चात कांग्रेस,एमाले,माओवादी केन्द्रविरुद्व आक्रोसित छन् । थेगिमको उम्मेदवारीले कांग्रेस,एमालेसँगै माओवादी केन्द्रको मत काटिने देखिन्छ ।

स्थानीय तह चुनावको हिसाबकिताब

इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिकासँगै माङ्सेबुङ फाकफोकथुम, चुलाचुलीका पुरै तथा माई नगरपालिकाको को ६, ७, ८ नम्बर वडा समेटिएका छन् । गएको स्थानीय तह चुनावमा देउमाईको मेयरसहित फाकफोकथुम र माङ्सेबुङको अध्यक्ष एमालेले र इलाम नगरपालिकाको मेयर र चुलाचुली गाउँपालिका अध्यक्ष कांग्रेसले जितेको छ । २०४९ सालको स्थानीय निर्वाचनपछि पहिलोपटक इलाम नगरपालिकामा कांग्रेसले जितेपछि एमालेले धक्का महशुस गरिरहेको छ ।

स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतलाई आधार मान्ने हो भने इलाम–२ मा कांग्रेसले एमालेभन्दा चार सयभन्दा बढी मत ल्याएको थियो । कांग्रेसले ३२ हजार ९ सय ७८ मत पाउँदा एमालेले ३२ हजार ५ सय २७ पाएको थियो । माओवादीले २ हजार ७ सय १७, जसपाले ५ सय ५४, एकीकृत समाजवादीले २ सय ७७ र राप्रपाले १ सय ३० मत पाएका थिए ।

त्यस्तै, २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले २२ हजार ३ सय ३३, नेकपा एमालेले २६ हजार ५ सय ६२, माओवादी केन्द्रले पाँच हजार १ सय ५३, जनता समाजवादीले ९ सय ६, एकीकृत समाजवादीले ५ सय ८६ र स्वतन्त्रले ४ हजार ६ सय ८६ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर