गृहमन्त्री रविलाई सरकारको ‘सुनपानी’

प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने निर्दोष रहेको ठोकुवा गरेका छन्। सांसदहरूले उठाएका प्रश्नको मंगलबार प्रतिनिधिसभामा जबाफ दिँदै प्रधानमन्त्री दाहालले बिनाप्रमाण ठाडो उजुरीका भरमा गृहमन्त्री लामिछानेलाई सहकारी ठगी गरेको भन्नु जायज नहुने बताएका हुन्।

‘हालसम्मका अनुसन्धानले उहाँ (गृहमन्त्री रवि लामिछाने) सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारीलगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको देखिएको छ। अदालतमा विचाराधीन मुद्दामा पनि उहाँलाई कही कतै जोडिएको देखिएको छैन,’ दाहालले भने।

प्रधानमन्त्री दाहालले सहकारीबाट उपप्रधान तथा गृहमन्त्री लामिछानेका नाममा प्रवाह गरिएको भनिएको ऋण फस्र्योट भएको देखिन आएकाले उनको हकमा अनुसन्धान गर्नुपर्ने नदेखिएको प्रहरी ब्रिफिङसमेत भएको जानकारी गराए।

‘सूर्यदर्शन बचत तथा सहकारी संस्थाका एक हजारभन्दा बढी बचतकर्ताले आफ्नो रकम हिनामिना गरिएको भन्दै २०८० साउन २२ गते गरेको जाहेरी दरखास्तमा कसैको नाम किटिएको थिएन,’ प्रधानमन्त्री दाहालले भने। उक्त जाहेरीबमोजिम प्रहरीले १९ जनालाई प्रतिवादी कायम गरी कास्की जिल्ला अदालतमा २०८० असोज १८ गते मुद्दा दायर गरेको पनि उनले बताए।

जुन मुद्दा अदालतमा विचाराधीन छ। प्रधानमन्त्री दाहालले मुद्दामा प्रतिवादी बनाइएका १९ जनामध्ये चार पक्राउ परेको र बाँकीलाई प्रहरीले खोजी गरिरहेको जानकारी गराए। याे समाचार आजकाे नागरिक दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *