कांग्रेसलक्षित ओलीको टिप्पणी- संसद अवरुद्ध पार्ने काम राजनीतिक होइन

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसद् अवरुद्ध पारेर अराजनीतिक काम गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष ओलीले सरकारबाट हट्नुपरेका पीडामा निहुँ खोजेर संसद अवरुद्ध गरेको बताएका हुन्। नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा बिहीवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतन्त्रमा राजनीतिलाई सबैको समृद्धि, खुशी र सम्मानसहितको राजनीतिक व्यवस्थाको रुपमा उपयोग गर्न पाउनुपर्ने बताए।

अध्यक्ष ओलीले एमालेले सबै समुदायको सुरक्षा र सम्मानसहितको समृद्धि नेपालः सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सम्बोधन गर्न चाहेको पनि बताए।

उनले भने, ‘डेमोक्रेसी किन चाहियो भन्दा यी कुराहरुमा लागि चाहियो। डेमोक्रेसी संसदमा सरकारबाट हट्नुपर्‍यो भनेर निहुँ खोजेर संसद् अवरुद्ध गर्ने, च्याठिने, आक्रोश पोख्ने, विरह बिसाउने, छाती पिटेर रुने मात्रै ठाउँ होइन राजनीति। त्यसो भएर राजनीतिलाई एउटा माध्याम हो। त्यही संयमका साथ राजनीतिक कार्य हामीले गर्नुपर्दछ। समाजको उन्नतिका लागि, प्रगतिका लागि, समानताका लागि, शान्ति सुब्यवस्थाका लागि, स्वच्छताका लागि, पारदर्शिताका लागि र समानताका लागि। सबैको सुरक्षा, सबैको सम्मान। यो कुरामा राजनीतिले ध्यान दिनुपर्दछ। त्यसकारण हामीले समृद्धि नेपालः सुखी नेपालीको प्यारामिटरमा अधिकार मात्रै होइन, सुरक्षा र सम्मान पनि जोडेका छौं। किनभने असुरक्षा र असम्मानको स्थिति, अपमानको स्थितिबाट हाम्रो समाज गुज्रिएर आएको छ। त्यसकारण हामीलाई सुरक्षा र सम्मान चाहिन्छ।’

अध्यक्ष ओलीले सबै समुदायको सुरक्षा र सम्मानलाई ध्यानमा राखेर राजनीतिक गतिविधिलाई अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर