संस्कृत भाषाको विकास र प्रवर्द्धनमा सरकारले काम गरिरहेको छ : मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले संस्कृत भाषाको विकास र प्रवर्द्धनमा नेपाल सरकारले काम गरिरहेको बताएका छन्  ।
नीति अनुसन्धान प्रतिष्ठान नेपाल, केन्द्रीय संस्कृत विश्वविद्यालय दिल्ली र इण्डिया फाउण्डेशन भारतको आयोजनामा बुधवारदेखि सुरु भएको अन्तर्राष्ट्रिय नेपाल–भारत संस्कृत सम्मेलनको काठमाडौँमा उद्घाटन गर्दै मन्त्री बस्नेतले संस्कृत भाषाको सम्बद्र्धन र प्रवर्द्धनका लागि सरकारले काम गरिरहेको बताएका हुन् ।
 ‘नेपालले संस्कृत भाषाको विकास र प्रवर्द्धनका लागि विद्यालय र विश्वविद्यालय स्थापना गरेर काम गरिरहेको छ, संस्कृत, इतिहास र भाषामार्फत नेपाल र भारतको सम्बन्धलाई जीवन्त राख्न मद्दत पुग्नेछ’ , उनले भने । मन्त्री बस्नेतले परम्परागत ज्ञानलाई आधुनिक विज्ञानसँग एकीकृत गर्दै लैजान सके मानव सभ्यतालाई नयाँ उचाईमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । संस्कृत भाषा परम्परागत ज्ञान, विज्ञानमा पुग्ने पहुँच मार्ग भएको उनले भनाई थियो ।
उनले संस्कृत भाषाको विकासलाई किन व्यापकता दिन सकिएन भन्ने बारेमा गहन छलफल गर्नुपर्ने आवश्यकता रहेको बताए ।  ‘हाम्रो परिचय, इतिहास, ज्ञान, विज्ञान संस्कृत भाषाभित्र छ, यसको विकासका लागि हामी लाग्नुपर्छ’  मन्त्री बस्नेतले भने । सामाजिक जीवनको दर्पण भाषा, संस्कृत र साहित्य भएको उनको भनाइ थियो ।
केन्द्रीय संस्कृत विश्वविद्यालय दिल्लीका कुलपति श्रीनिवास वरखेडीले शिक्षा क्षेत्रको विकासले मात्र विकसित भारत र विकसित नेपाल निर्माण हुनसक्ने बताए ।  ‘भारतले स्वतन्त्रता भएको १०० औँ वर्षमा विकसित भारत बनाउने घोषणा गरेको छ, विकसित भारत बनाउने लक्ष्यलाई पुरा गर्न नेपाल र नेपालीको साथ आवश्यक छ,’ – उनले भने नेपाल र भारतको भविष्य संस्कृत भाषासँग जोडिएको उनको भनाइ थियो ।
संस्कृत भाषा भारतका केन्द्रीय सङ्गठनमन्त्री दिनेश कामतले संस्कृत भाषालाई विश्वको शक्तिशाली भाषाका रुपमा विकास गर्नुपर्ने बताए ।“हाल विश्वका ४० देशको दुई सय ५४ विश्वविद्यालयमा संस्कृत भाषाको पढाई हुँदै आएको छ, यो भाषा विस्तारै विश्वभर फैलँदै गएको छ, उनले । योग, आयुर्वेद, रामायणलगायत संस्कृत भाषाका कारण अगाडि बढेको उनको भनाइ छ । भारतीय उच्च अध्ययन संस्थानकी अध्यक्ष शशीप्रभा कुमारले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध धेरै पुरानो रहेको उल्लेख गरे ।  ‘हिमालको संरक्षण, विक्रम सम्बत्, बौद्ध दर्शन, भेषभूषालगायतका कारण नेपाल–भारतबीचको सम्बन्ध घनिष्ट हुँदै गएको छ’ , उनले भने ।
नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति डा यादवप्रसाद लामिछानेले भारत र नेपाललाई जोड्ने कडी संस्कृत भाषा भएको बताए । संस्कृतको विकासका लागि नेपाल र भारतले उक्त सम्मेलनमा गहन छलफल गर्नुपर्ने भनाइ छ । डा लामिछानेले संस्कृत भाषाको विकासका लागि नेपाल र भारतका संस्कृत विश्वविद्यालयबीच सहकार्य गरेर अगाडि बढ्ने बताए ।
संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव डा काशीनाथ न्यौपानेले संस्कृत भाषालाई नेपाल र भारतले संयुक्त सम्पत्तिका रुपमा अगाडि बढाउनुपर्ने बताए । नीति अनुसन्धान प्रतिष्ठान नेपालका कार्यकारी निर्देशक केशवराज पन्थी, निर्देशक डा दीपककुमार अधिकारीलगायतले नेपाल र भारत संस्कृत भाषाको जननी भएकाले यसको विकासमा एकजुट भएर अगाडि बढ्नुपर्ने बताएका थिए ।
सम्मेलनमा नेपाल संस्कृत विश्वविद्यालय तथा केन्द्रीय संस्कृत विश्वविद्यालय, दिल्लीका उपकुलपतिलगायत अन्य विभिन्न विश्वविद्यालयका उपकुलपति तथा विशिष्ट आचार्यको उपस्थितिमा अनुसन्धानमूलक कृतिको प्रस्तुतीकरण हुनेछ । सम्मेलनमा दुवै देशका गरी ८० जना विद्वानको सहभागिता रहने आयोजक समितिका संयोजक डा प्रेमराज न्यौपानेले जानकारी दिए ।
सम्मेलनमा नेपाल र भारतका संस्कृतसँग सम्बन्धित विषयवस्तुमाथि गहन विमर्श गरिने कार्यक्रम रहेको छ । यस्तै, वरिष्ठ प्राध्यापकबाट अनुभव, ज्ञान र विज्ञतामा आधारित विषयवस्तुको प्रस्तुतिले सम्मेलनलाई विद्वत्तापूर्ण बनाउने विश्वास गरिएको छ । नवीन चिन्तन प्रणालीलाई संस्कृतले कसरी धारण गर्नुपर्छ भन्ने विषयमा समेत परामर्श हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *