अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम निलम्बित

प्रहरीले पक्राउ गरेपछि एमालेको विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम निलम्बनमा परेकी हुन् । बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै अनेरास्ववियुका अध्यक्ष समिक बडालले उनी निलम्बनमा परेको जनाएका हुन् ।

‘अनेरास्ववियु कानुनी राज्यको वकालत गर्ने संगठन भएको हुनाले निष्पक्ष प्रहरी अनुसन्धानमा संगठनको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रिया अवधिभर क. रक्षा बमलाई संगठनको जिम्मेवारीबाट निलम्बन गरिएको जानकारी गराउन चाहन्छौँ ।’

साथै सार्वजनिक जिम्मेवारीमा रहेको व्यक्तिमाथि उजुरीकै आधारमा निजी जीवनमाथि आक्रमण गर्ने प्रयास भएको भन्दै त्यसमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको पनि बडालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

बमलाई महाराजगञ्ज प्रहरीले बुधबार पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार बमविरुद्ध आपराधिक लाभ लिएको कसुरमा अनुसन्धान भइरहेको छ ।

हालै अदालतले बमको मानहानि गरेको मुद्दामा रस्मिला धामी दोषी ठहर भएकी थिइन् । बम पक्राउ परेपछि धामीले न्यायको लडाइँ जारी रहेको बताएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *