बागमती प्रदेशमा सरकार विस्तार, बज्राचार्यले लिए शपथ

वाग्मती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टी (हानेपा)लाई बिहीबार साँझ सरकारमा सहभागी गराएका हुन् । प्रदेश प्रमुख यादव शर्माले हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

बज्राचार्य सरकारमा सहभागी भएसँगै जम्कट्टेल नेतृत्वको सरकारले पुन: बहुमत प्राप्त गरेको छ । मंगलबार मात्र यस दलले हालको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको थियो । जसका कारण वर्तमान माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएसँगै वाग्मतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । हानेपासँग दुई सांसद रहेका छन् । गत फागुन २३ मा काँग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

वाग्मतीमा सरकार बनाउन ५६ सांसद आवश्यक पर्छ । प्रदेशसभामा नयाँ गठबन्धनमा आबद्ध एमालेका २७, माओवादी केन्द्र २१ र एकीकृत समाजवादीका ७ गरी ५५ मत छ  । सरकार टिकाउन १ मत आवश्यक छ । जसका कारण हाम्रो नेपालीको समर्थन जोगाइराख्न माओवादीले कसरत गरिरहेको थियो । प्रदेशसभामा काँग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *