तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता छैनः मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले तीन महिनापछि लोडसेडिङ नहुने बताएका हुन् ।

छलफलका क्रममा केही सांसदहरुले भारतले विद्युत बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुनसक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले तीन महिनापछि लोडसेडिङ नहुने स्पष्ट पारे । उनले वर्षायाममा नेपालले विद्युत बिक्री गर्ने अवस्था हुने भन्दै भ्रमको पछि दौडिन नहुने बताए ।

‘लाभ छ । नोक्शान छैन । गठबन्धन बाहिर सहकार्य गर्न कुनै बन्देज पनि छैन । आर्थिक दायित्व सिर्जना भएको छैन । लाभ लिन सकिने प्रशस्त ठाउँहरु छन् । हामीले चिन्ता गर्नुपर्ने स्थिति देखिँदैन । सौर्य वित्तको मात्र कुरा होइन, सौर्य प्रविधि, नवप्रवर्तन, क्षमता विकासको विषय पनि लाभका क्षेत्र हुन् । तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने चर्चाको बारेमा यो सत्यता होइन । एउटा कुरा के प्रष्ट छ त भन्दा वर्षायाममा त हामी बिक्री गर्छौं । त्यसकारणले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरा आफैँमा सही होइन । त्यो भ्रमको पछि दौडिनु हुँदैन,’ उनले भने ।

उनले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) मा सहभागी हुँदा प्रशस्त लाभ लिन सकिने बताए । उनले यो गठबन्धनमा आवद्ध भएबापत कुनै आर्थिक दायित्व समेत सिर्जना नहुने भन्दै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए । यो गठबन्धनमा आवद्ध हुँदा गठबन्धन बाहिर सहकार्य गर्नका लागि पनि कुनै बन्देज नभएको उनको भनाय थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर