उन्मुक्ति पार्टीका नेताको आरोप : रेशम चौधरीले हत्या हुन सक्ने धम्की दिए

नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूलाई पार्टी संरक्षक रेशम चौधरीले हत्या हुन सक्ने धम्की दिएको दाबी गरेका छन् । आइतबारको एक बैठकमा चौधरीले हत्या हुन सक्ने धम्की दिएको विश्वकर्माले रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा बताएका हुन् ।

‘हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा टीकापुर नगरपालिकाका मेयर साब, वडा नं ४ का वडाध्यक्ष, वडा नं ५ का वडाध्यक्ष संयुक्त रुपमा बसेका थियौं । उहाँले सिधै के भन्नुभयो भने यदि सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमी चारै जनाको हत्या पनि हुन सक्छ भनेको हुनाले आज ममाथि भौतिक आक्रमण हुँदा म असुरक्षित छु भन्ने महसुस भयो,’ उनले भने ।

आज अनामनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलको क्रममा आफूमाथि आक्रमण भएको उनले बताए । आज केन्द्रीय समिति बैठक सुरू हुनुअघि अनौपचारिक छलफलमा प्रधानमन्त्री भेट्न बालुवाटार गए पिट्ने बताएको विश्वकर्माले दाबी गरे ।

‘अध्यक्षज्यू बैठकमा आइसक्नु भएको थिएन । केन्द्रीय समिति बैठकअघि अनौपचारिक छलफल भएको थियो । त्यसक्रममा मलाई पार्टी कार्यालयभित्रै ढोका चुकुल चलाएर आक्रमण भयो’ उनले भने ।

पार्टीका नेता दामोदर पण्डित संयोजकत्वमा रहेको वार्ता टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्न सोमबार बालुवाटार जाने तयारी गरेकामा चौधरी पक्षले आपत्ति जनाएको थियो । ‘आज हामीले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट्ने कार्यक्रम थियो। बालुवाटार गयौं भने म तिमीहरूलाई बालुवाटार बाहिरै पिट्छु भनेर उहाँले भनेपछि हामीले विरोध गरेका थियौं,’ विश्वकर्माले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *