संसदीय छानबिन समिति किन चाहियो ? यस्तो छ कांग्रेसको ३ तर्क

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम ठगीका सम्बन्धमा संसदीय छानबिन समिति गठनको माग कायमै राखेको छ ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम ठगी प्रकरणमा जोडिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग दोहो¥याए ।

संसदबाट कसैलाई दोषी करार गर्न नपाइने र निर्दोष भनेर चोख्याउन पनि नहुने उनको तर्क छ । तर उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेमाथि छानबिनको विषय प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले उठाइरहेकोमा सत्तापक्षले संसदबाटै निर्दोष भनेर करार गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

‘को दोषी वा को निर्दोष भनेर रोस्टम वा फ्लोरबाट छुट्याउने विधि र पद्धति हाम्रो होइन । संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष साबित हुन पाउने हक उपभोग गर्न दिइनुपर्छ,’ शर्माले भने ।

संसदीय छानबिन समिति किन चाहियो भन्ने प्रश्न उठिरहेकोमा यसमा मुख्य तीन कारणले समिति चाहिएको उनको भनाइ छ । ‘स्वार्थको टकराव (कन्फ्क्टि अफ इन्ट्रेस्ट) देखिएका कारण, सहकारी ठगीसम्बन्धमा चलिरहेको छानबिन रोकिएका कारण र यो विषयमा सडकमा नभई संसदीय छानबिन समितिमा बहस चलाइनुपर्ने र जवाफ दिइनुपर्छ भन्ने तीनवटा कारणले समिति चाहिएको हो,’ महामन्त्री शर्माले भने ।
संसदका आगामी बैठकमा नेपाली कांग्रेसले यो विषयलाई थप गम्भीरताका साथ उठाउने पनि शर्माले बताए । ‘संसदको अर्को बैठकमा आउँदा सरकारले छानबिन समिति गठन गर्ने प्रस्तावसहित आओस् । कतिपयले कांग्रेसले सत्ताको चाल चल्नका लागि यो विषय उठाएको र अब यसलाई महत्वका साथ उठाउँदैन भन्ने गरेको सुनिन्छ, तर हामी संसदीय छानबिन समिति गठन गरिनुपर्ने माग भन्दा दाँया–बाँया उभिनेवाला छैनौं,’ शर्माले भने ।

छानबिन समिति गठनका लागि सरकारलाई दिएको अल्टिमेटम सकिएको बताउँदै महामन्त्री शर्माले संसदको अबको बैठकमा छानबिन समिति गठन नभए विरोधका कार्यक्रम चर्काउने संकेत गरे ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री वा मन्त्रीले संसदमा बोल्नका लागि समय माग गरेमा उपलब्ध गराइने संवैधानिक व्यवस्था रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर