वाइडबडी खरिद प्रकरणका आरोपीविरुद्ध यस्तो छ अख्तियारको अभियोग (पत्रसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमका लागि दुईवटा वाइडबडी विमान खरिदको क्रममा भ्रष्टाचार भएको ठहर गरेको छ । वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको अख्तियारले दाबी गर्दै त्यति नै रकम बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

अख्तियारले उक्त विमान खरिद प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा पूर्व पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित हाइप्रोफाइल ३२ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । शाही हाल कर्णाली कांग्रेस संसदीय दलका नेता छन् ।

तत्कालीन पर्यटनमन्त्री शाही, नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगत कंसाकार, तत्कालीन भन्सार विभाग महानिर्देशक शिशिर ढुंगाना, सहसचिव बुद्धिसागर लामिछाने र पर्यटन सचिव शंकर अधिकारीविरूद्ध मुद्दा दायर भएको छ ।

यस्तै, नेपाल वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्यहरू टेकनाथ आचार्य, निमा नुरू शेर्पा र मुक्तिराम पाण्डेविरुद्ध पनि मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका तत्कालीन महानिर्देशक एवं समिति सदस्य जीवनप्रकाश सिटौला र समिति सदस्य अच्यूतराज पहाडी, निगमका तत्कालीन कामु निर्देशक रामहरि शर्मा सेढाँइ, तत्कालीन कामु निर्देशक तथा हाल नायब महाप्रबन्धक जनकराज कालाखेती र उपनिर्देशक प्रभासकुमार कर्माचार्यविरुद्ध पनि दर्ता भएको छ ।

त्यसैगरी निगमका तत्कालीन निर्देशक गणेशबहादुर चन्द, तत्कालीन कामु निर्देशक कर्णबहादुर थापा र तत्कालीन नि.निर्देशक तथा वरिष्ठ क्याप्टेन सुवास रिजालविरुद्ध पनि मुद्दा छ ।

निगमले अमेरिकाको एएआर इन्टरनेशनल, जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनीले स्थापना गरेको हाइफ्लाई एक्स नामको कम्पनीबाट विमान खरिद गरेको थियो ।

विमान खरिदका लागि निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट करिब २४ अर्ब रुपैयाँ ऋण लिएको थियो । उक्त रकमबाट निगमले २०७५ असार १४ र २०७५ साउन १० मा विमान खरिद गरेर नेपाल ल्याइएको थियो ।

सम्झौताभन्दा फरक खातामा रकम भुक्तानी, अपारदर्शी कारोबार, उडान भर्दाको अधिकतम तौल, मूल्यवृद्धिको अनुपात, गलत लागत अनुमान तयार गरिएको, विमानको क्षमता घटाइएको लगायत कारणले भ्रष्टाचार भएको अख्तियारको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *