गण्डकी प्रदेश सरकार गठनमा ओलीले मागे राप्रपासँग सहयोग

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गण्डकी प्रदेश सरकार गठनका लागि सहयोग गर्न राप्रपालाई आग्रह गरेका छन् । आज पोखरामा राप्रपाका नेताहरुसँग भेटेर उनले नयाँ सरकार गठनमा सहयोग मागेका हुन् ।

सत्ता गठबन्धनले गण्डकीमा एमालेलाई नेतृत्व दिने सहमति भएको छ । तर, माओवादी, एमाले मात्र मिलेर गण्डकीमा सरकार गठनका लागि बहुमत पुुग्दैन । २ प्रदेश सांसद रहेको राप्रपा निर्णायक भएकाले ओलीले राप्रपा संसदीय दलका नेता पञ्चराम गुरूङसँग भेट्दै सहयोग मागेका हुन् ।

केन्द्रमा राप्रपाले प्रदेशका कुनै पनि सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ ।

गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले यही चैत २१ मा आह्वान गरेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोही दिन पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्ति जारी गरी आगामी चैत २७ मा दिउँसो ३ बजेभित्र मुख्यमन्त्री दाबी गर्न समय दिइएको जनाएको छ । संविधानको धारा, १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मिति २०८० चैत २७ गते मंगलबार दिउँसो ३ बजेभित्र गण्डकी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले बताए ।

यसैगरी, अर्को मन्त्रिपरिषद् गठन नभएसम्म संविधानको धारा, १६९ को उपधारा (३) बमोजिम यही मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी प्रदेश प्रमुखले तोकेको पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

गण्डकी प्रदेशसभामा कूल ६० सदस्य छन् । यहाँ सरकार गठनका लागि ३१ सदस्यको समर्थन आवश्यक पर्दछ । प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सदस्य छन् ।

एमाले, माओवादी मिल्दा २९ सिट (सभामुखबाहेक) मात्र हुन्छ । माओवादी कोटाबाट सभामुख भएकाले बराबर हुने अवस्थामा मताधिकारको अधिकार रहन्छ । त्यसैले गठबन्धनलाई राप्रपाको साथ अनिवार्य छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *