सिँचाइ कार्यक्रममा भ्रष्टाचारको आरोपमा पलाता गाउँपालिकाको तत्कालीन उपाध्यक्षसहित ८ जनाविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालिकोटको साविक थिर्पु गाविसमा सञ्चालित थोपा सिँचाइ कार्यक्रममा भ्रष्टाचार गरेको अभियोगमा पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले पलाता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा र सव इन्जिनियर माधवकुमार काफ्लेविरुद्ध रु १३ लाख ७४ हजार नौ सय ९१ बराबरको बिगो दाबी गरिएको छ । पलाता गाउँपालिकाका तत्कालीन उपाध्यक्ष दाना न्यौपाने, वडा नं ८ का तत्कालीन वडाध्यक्ष पटकबहादुर बम र वडा सचिव जानकीकुमारी शाही विरुद्ध पनि समान बिगो दाबी गरिएको छ । मूलखोला थोपा सिँचाइ उपभोक्ता समितिका अध्यक्ष मनराज शाही, सचिव लोकेन्द्र बम र कोषाध्यक्ष मोतिसुरा रोकाय विरुद्ध पनि बिगो बमोजिम समान बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

आयोगले आजै कृषि विकास निर्देशनालय, गण्डकी प्रदेशका तत्कालीन निमित्त कार्यालय प्रमुख निलकण्ठ पोखरेल, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनालसहित आठजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुलाई कृषि निर्देशनालय गण्डकी प्रदेशबाट प्राप्त अनुदान रकममा भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगले निमित्त कार्यालय प्रमुख खनालविरुद्ध रु २८ लाख, ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरेको छ । कृषि इन्जिनीयर विश्वनाथ पौडेल, कृषि विकास अर्थविज्ञ भानुभक्त भट्टराई, पकवादी सहकारी संस्थाका अध्यक्ष हरिलाल खनाल, उपाध्यक्ष हेमा पौडेल तिमिल्सिना, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ र गल्याङ नगरपालिका–३ श्रीप्रसाद श्रेष्ठविरुद्ध पनि रु २८ लाख ३७ हजार दुई सय १७ बराबरको बिगो दाबी गरिएको छ । आरोपीलाई कैद सजायको माग गरिएको आयोगका प्रवक्ता घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर