संसदको चालु अधिवेशन वैशाख २ देखि अन्त्य गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

सरकारको प्रवक्ता रेखा शर्माका अनुसार वैशाख २ गतेदेखि संसद अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय भएको हो ।

संसदमा अवरोध हुने देखिएपछि वैशाख २ गतेसम्म स्थगित गरिएको थियो ।

राष्ट्रिय सभाको मनोनीत सदस्यमा शाक्यलाई सिफारिस गर्ने निर्णय

मन्त्रिपरिषदले राष्ट्रिय सभाको मनोनीत सदस्यमा अञ्जान शाक्यलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ । पूर्वराजदूत समेत रहेकी शाक्य एमाले कोटाबाट राष्ट्रिय सभा सदस्य बन्न लागेकी हुन् ।

दुई आयोगका पदाधिकारी नियुक्ति सिफारिस समिति गठन

सरकारले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्षसहित सदस्यको नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गरेको हो ।

समितिमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश जगदीश शर्मा पौडेल, डा अर्जुनकुमार कार्की र स्टेला तामाङ सदस्य रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ३ बमोजिम दुवै आयोगका अध्यक्ष तथा सदस्यको नियुक्तिको सिफारिस गर्न सिफारिस समिति गठन गरिएको उनले जानकारी दिइन् ।

सिफारिस समितिमा राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा निजले तोकेको सो आयोगका सदस्य, मानवअधिकारकर्मी, मनोविज्ञानवेत्ता, कानुनविद्, विधिविज्ञान विज्ञ तथा महिला अधिकारकर्मी, समाजशास्त्री, द्वन्द्वविद्, शान्ति प्रक्रियामा संलग्न व्यक्तिमध्येबाट सदस्य रहने व्यवस्था छ ।

सुन्तलालाई राष्ट्रिय फलको मान्यता

मन्त्रिपरिषद्ले सुन्तलालाई राष्ट्रिय फलको मान्यता दिने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिइन् । बैठकले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यका लागि डा. दामोदर पौडेललाई अवैतनिक वाणिज्यदूतमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर