सुदूरपश्चिममा सरकारको दाबी गर्ने आज अन्तिम दिन, दलहरूबीच अझै भएन सहमति

सुदूरपश्चिम प्रदेशमा सरकार निर्माणको दाबी पेश गर्ने आज अन्तिम दिन अहिलेसम्म पनि दलहरूबीच ठोस सहमति हुन सकेको छैन ।

प्रदेश प्रमुख नजिर मियाँले २३ गते संविधानको धारा १६८ (२) बमोजिम दुई वा दुई भन्दा बढि दलहरू मिलेर सरकार निर्माणको लागि दाबी पेस गर्न आज साँझ ५ बजे सम्मको समय दिएका थिए । प्रदेश प्रमुखले दिएको समय आज सकिँदै गर्दा पनि दलहरू बीचको विवाद र अडानका कारण ठोस सहमति जुट्न नसकेको हो ।

एमाले माओवादीसहितको सत्ता गठबन्धनमा अहिले सम्म नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने भद्र सहमति भएको बताइएको छ । तर, नेकपा एकीकृत समाजवादीले पनि आफ्नो दाबी कायमै राखेको छ । नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद देखिएपछि मुख्यमन्त्रीको लिखित सहमति हुन ढिलाइ भइरहेको नेताहरूले दाबी गरेका छन् ।

सुदूरपश्चिम प्रदेशमा अहिले प्रदेश सभा सदस्यको संख्या ५१ रहेको छ । कांग्रेसका पृथ्वीबहादुर सिंहको दुर्घटनामा मृत्यु भएको थियो भने नाउपाकी इन्दिरा गिरी पदमुक्त छिन् । यहाँ बहुमत पुर्‍याउन २७ सांसद चाहिन्छ ।

नयाँ सत्ता गठबन्धनका सभामुख बाहेक माओवादी केन्द्रका १०, एमालेका १० नाउपाका ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र सांसद डा.तारा जोशी पनि यही गठबन्धनमै रहन चाहने बताइन्छ । यसरी बहुमत पुग्छ तर, नाउपाको विवाद अझै सुल्झिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *