केन्द्रको गठबन्धनलाई सुदूरपश्चिमको काउन्टर, मुख्यमन्त्रीमा नाउपा, कांग्रेस र एसको गठबन्धन

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन् । उनले आज कांग्रेस र एकीकृत समाजवादीको समर्थनसहित प्रदेश प्रमुख नजीर मियाँलाई दाबी पेस गरेका हुन् ।

केन्द्रमा बनेको नयाँ सत्ता समीकरण विपरीत सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी पेस भएको हो । केन्द्रमा माओवादी, एमाले, जसपा, रास्वपा, नागरिक उन्मुक्ति, नेकपा एस लगायतको गठबन्धन छ । यो गठबन्धनमा सहमति भएअनुसार सुदूरपश्चिममा उन्मुक्ति र एसले आलोपालो सरकार चलाउने भएका थिए ।

तर, उन्मुक्तिमा पनि दुई धार देखिएको छ । अध्यक्ष रञ्जिता श्रेष्ठ र पार्टी संरक्षक रेशम चौधरीबीच विवादका कारण सरकार गठनमा अलमल हुँदै आएको थियो । अहिले रेशम पक्षधर चौधरीले मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।

दाबी पेस गर्ने बेलामा कांग्रेस संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षर चौधरीले बुझाएका छन् ।

५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य कायम छन् । बझाङबाट निर्वाचित पृथ्वी सिंहको निधन भएको छ भने नागरिक उन्मुक्ति पार्टीले आफ्ना सांसद इन्दिरा गिरीलाई कारबाही गर्ने निर्णय गरेको छ । सरकार गठनका लागि २६ सांसदको समर्थन चाहिन्छ ।

हाल कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका ६ र एकीकृत समाजवादीका ४ जना सांसद छन्, जसको समर्थन रहेको दाबी चौधरीले गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *