नेपाललाई हङकङको १ सय १५ रनको सामान्य लक्ष्य

एसिसी पुरुष प्रिमियर कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत हङकङविरुद्धको खेलमा नेपालले १ सय १५ रनको लक्ष्य पाएको छ ।

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले १७.५ ओभरमा हङकङलाई १ सय १४ रनमै अलआउट गरेको हो । ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा भएको खेल वर्षाका कारण ढिलो सुरु भएको थियो । खेल १८ ओभरमा झारिएको छ ।

हङकङका लागि अंशी रथले सर्वाधिक ३४, कप्तान निजाकत खानले १२, जीसान अलीले १४ रन बनाए । नेपालका लागि अविनाश बोहराले ३, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरीले समान २ विकेट र करन केसीले १ विकेट लिए ।
प्रतियोगितामा नेपाल लगातार तेस्रो जितको खोजीमा छ । यसअघि खेलेका दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।

यस खेलमा हङकङलाई हराउन सके नेपाल एक खेल अगावै समूह ‘ए’बाट प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ । हङकङ भने दोस्रो जितको खोजीमा छ । यसअघि खेलेको दुई खेलमध्ये हङकङले एक खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

हङकङले पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर