२३ करोड ७५ लाख भ्रष्टाचारको आरोपमा सुनिल पौडेलविरुद्ध मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

पौडेलले सार्वजनिक पदको दुरुपयोग गरी स्रोत नखुलेको २३ करोड ७५ लाख रुपैयाँ बराबरको सम्पत्ति आर्जन गरेको अभियोग लगाउँदै अख्तियारले आइतबार मुद्दा दायर गरेको हो । मुद्दामा बिगो बराबरको जरिवाना असुल उपर गर्न तथा कसुर अनुसार जेल सजायको माग दाबी गरिएको छ ।

अख्तियारले उनलाई माघ १० गते पक्राउ गरेको थियो । आम्दानीको तुलनामा उनको आर्जन धेरै बढी देखिएको भन्दै अख्तियारले अकूत सम्पत्ति कमाएको निष्कर्ष निकालेको हो ।

अख्तियारले पौडेलविरुद्ध २०६१ जेठ २० देखि ०७९ फागुन ३० सम्मको सम्पत्ति छानबिन गरेको उल्लेख गरेको छ । पौडेलमाथि दूरसञ्चार र प्रविधिजन्य उपकरण खरिद तथा त्यससँग जोडिएको आर्थिक खटनपटनमा अनियमितता गरेर गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोग लगाइएको छ ।

पौडेलविरुद्ध अख्तियारले दायर गरेको यो दोस्रो भ्रष्टाचार मुद्दा हो । गत असोजमा दायर पेमेन्ट गेटवेको मुद्दामा उनलाई विशेष अदालतले शुक्रबार दोषी ठहर गरेको छ । विशेष अदालतले कसुर निर्धारणका लागि २५ वैशाखमा पेशी तोकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर